क्षतिपूर्तिबापत कतारबाट आएको डेढ करोड बढी रकम मन्त्रालयकै खातामा !


काठमाडौं ।  रोजगारीको शिलशिलामा विदेशमै मृत्यु भएका नेपालीकाे नाममा आएको डेढ करोड भन्दा बढी  रकम श्रम तथा रोजगार मन्त्रालयकाे खातामै राेकिएकाे पाइएकाे छ ।

नेपाली राजदुतावास दोहा, कतारबाट गत वर्ष मंसिर २ गते आएको १ करोड ६० लाख ७० हजार रुपैयाँ हालसम्म मन्त्रालयकै खातामा रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । मृत्तककाे तथा घाइतेकाे नाम तथा पूर्णविवरण उपलब्ध हुन नसकेपछि क्षतिपूर्ति वापतको रकम वितरण हुन नसकेकाे हाे ।

महालेखाले उक्त रकमका सम्बन्धमा यकिन गरी सम्बन्धित व्यक्तिलाई वितरण गर्नु पर्ने वा पत्ता नगालेमा संचित कोषमा दाखिला गर्नुपर्ने बताएको छ ।

घाइते क्षतिपूर्ति कोष वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको क्षतिपूर्ति बापत सम्बन्धित रोजगार कम्पनी तथा बीमा कम्पनीबाट प्राप्त हुने रकम नेपाली नियोगहरु मार्फत् मन्त्रालयमा प्राप्त हुने र मन्त्रालयले मृत्यु वा घाइते भएका व्यक्तिको स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पठाउने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महालेखाका अनुसार यस वर्ष विभिन्न श्रम गन्तव्य मुलुकमा मृत्यु / घाइते भएका ३०८ जनाको क्षतिपूर्तिबापत प्राप्त  २७ करोड २९ लाख १४ हजार रकम मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमा पठाएको छ ।

मृतक / घाइतेका हकवालाले क्षतिपूर्ति बापतको कम प्राप्त गरे नगरेको सम्बन्धमा मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुबाट प्रतिवेदन अनुगमन नगरेको महालेखाले जनाएको छ ।