घट्यो रेमिट्यान्स, शिक्षामै बाहिरियो साढे ३ अर्ब


काठमाडौं । लगातार बढ्ने प्रवृत्तिमा रहेको रेमिट्यान्स चालू आर्थिक वर्ष २०७८/७९ लागेसँगै ठूलो अनुपातमा घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत साउन महिनामा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको साउनमा ९२ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गत वर्षको तुलनामा १८.१ प्रतिशतले रेमिट्यान्स घटेको राष्ट्र बैंकले जनाएको छ ।

असारमा ९० अर्ब १० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो भने गत आर्थिक वर्ष २०७७/७८ भरिमा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

समग्र वार्षिक तुलनामा रेमिट्यान्स बढेको देखिए पनि मासिक आधारमा हेर्दा भने गत वर्षभन्दा विदेश बस्ने नेपालीले कम पैसा पठाउन थालेको राष्ट्र बैंकको विवरणबाट देखिन्छ । गत वर्ष लकडाउनका पहिलो दुई महिना निकै कम अनुपातमा रेमिट्यान्स नेपाल पठाएका

नेपालीहरूले जेठमा ७४ अर्ब, असारमा १ खर्ब १ अर्ब र साउनमा ९२ अर्ब रुपैयाँ रेमिट्यान्स घर पठाएका थिए ।
यो वर्ष वैशाखमा ८० अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा जेठमा ६१ अर्बमात्र भित्रियो भने असारमा ९० अर्ब भित्रिए पनि फेरि साउनमा करिब ७६ अर्ब रुपैयाँमात्र भित्रिएको हो ।

विदेश जानका लागि श्रमस्वीकृति लिने नेपालीका संख्या बढे पनि विदेशबाट प्राप्त हुने रेमिट्यान्स भने घटेको हो । साउनमा वैदेशिक रोजगारीका लागि १३ हजार ८ सय जनाले अन्तिम श्रम स्वीकृति लिएको राष्ट्र बैंकले जनाएको छ । यसैगरी, ११ हजार ६२८ जनाले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएका छन् ।

नेपालबाट बाहिरियाे ६ अर्ब रेमिट्यान्स

नेपालमा कार्यरत विदेशीहरूले  गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट ६ अर्ब  १ करोड ८५ लाख रुपैयाँ रेमिट्यान्सबापत आफ्नो मुलुकमा लगेका छन् । यो बहुराष्ट्रिय कम्पनी, विभिन्न बैंक, अन्तर्राष्ट्रिय नियोग, वायुसेवा कम्पनीमा कार्यरत विदेशीले औपचारिक माध्यमबाट लगेको रकममात्र हो ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा नेपालबाट ६ अर्ब ९३ करोड  ६१ लाख रुपैयाँ रेमिट्यान्सका रुपमा बाहिरएकोमा  २०७५/७६ मा रेमिट्यान्सबापत ५ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ बाहिरएको थियो ।

चालू आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा विदेशीहरूले ४४ करोड २० लाख रुपैयाँ आफ्नो मुलुकमा नेपालबाट रेमिट्यान्स लगेका छन् ।

शिक्षाका लागि बाहिरियो साढे ३ अर्ब

चालू आर्थिक वर्षको पहिलो महिनामा नै अध्ययनका लागि बाहिर जाने नेपालीमार्फत् ३ अर्ब ४७ करोड रुपैयाँ बाहिरिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षभरि २०७७/७८ मा अध्ययनका लागि भनेर २४ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बाहिरिएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा शिक्षाका लागि ४६ अर्ब २४ करोड रुपैयाँ बाहिरएकोमा त्यसयता यस्तो रकम घट्दै आएको राष्ट्र बैंकको विवरण देखाउँछ २०७५/७६ मा शिक्षाका लागि २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरएको थियो ।