लयमा फर्किदै सेयर बजार : बुधबार नेप्से ६८ अंकले बढ्दा १० वटा कम्पनीको मूल्यमा सकरात्मक सर्किट


काठमाडौं । केही साता देखि लगातार घटेको सेयर बजार हिजो देखि उकालो लागेको छ । आज साताको कारोबारको चौथो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से भारी अंकले बढेको छ ।

आज सेयर बजारमा लगानीकर्ताको आँखा लघुवित्त तिर मात्रै गएको छ । र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले पनि धमाधम लाभांश घोषणा गरिरहेको हुनाले अब बजार सकरात्मक बाटो तर्फ लागेकोे लगानीकर्ताको भनाई छ । अधिकांश लघुवित्तहरुले बम्बर लाभांश घोषणा गरेका छन् जसको कारण लगानीकर्ताको आर्कषण लघुवित्त तर्फ रहेको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ६८.४७ अंकले बढेर २६८१.१० अंकमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १२.७२ अंकले बढेर ५०४.७३ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सूचक बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह र लघुवित्त समूह बढेको छ ।

नेप्सेका अनुसार कारोबार रकमका आधारमा आज सिटिजन्स बैंक लिमिटेड सर्वाधिक अग्रस्थानमा रहेको छ । बैंकको २३ करोड ४ लाख रूपैयाँको कारोबार भएको हो ।

बुधबार १० कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा प्राय लघुवित्तहरू नै रहेका छन् ।

त्यसैगरी, बुधबार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

कूल २२७ वटा कम्पनीको ८१ लाख ८९ हजार ८ सय ९० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५० करोड ६ लाख ५८ हजार एक सय ४२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।