सन् १९७० को दशक, जतिबेला युरोप र अमेरिकाका युवाहरू ‘शान्तिको खोजी’मा, सहरी जिन्दगीबाट अलग रहेर स्थलमार्गबाट नेपाल आइरहेका बेला ठीक उल्टो नेपालको २२ वर्षको एउटा ठिटो भने नेपालबाट फ्रान्स हुँदै अमेरिका जाने र उतै जिन्दगी बिताउने योजना बुनेर अघि बढ्दै थियो ।
काठमाडौंमा जन्मे–हुर्केका श्याममोहन श्रेष्ठले नेपालको पहिलो क्यासिनोमा बलियो जागिर खाँदाखाँदै अचानक त्यो छोडेर फ्रान्स जाने सपना बुन्छन् र निस्कन्छन् भारत, पाकिस्तान, अफगानिस्तान हुँदै रेल र बसको यात्राबाट फ्रान्सतर्फ ।
नेपालका लागि लामो समयसम्म एयर फ्रान्सको नेपालका लागि प्रमुख र जिएसए रहेका पर्यटन उद्यमी श्याममोहन श्रेष्ठले हालै बजारमा ल्याएको आत्मकथा ‘काठमाडौं– पेरिस– काठमाडौं बस र रेल यात्रा साहस र आँटले डोर्याएको जिन्दगी’मा त्यस बेलाको (सन् १९७० को दशकमा)मा कसरी एउटा नेपाली युवाले स्थलमार्गबाट युरोपसम्मको यात्रा सम्पन्न गरेर फर्कियो भन्ने सजीव चित्रण गरिएको छ ।
‘आत्मकथा’ भनिए पनि पुस्तकको अधिकांश भाग ‘काठमाडौं– पेरिस– काठमाडौं’को ७ महिना ७ दिन लामो यात्रा संस्मरण र बाँकी खण्ड व्यक्तिगत र व्यावसायिक जीवनको स्मरणसँग जोडिएकाले यस पुस्तकलाई ‘यात्रानुभूति’ भन्न सकिन्छ ।
![](https://taksarnews.com/wp-content/uploads/2021/11/Book-Review_Shyam-Mohan-Shrestha-2-768x521.jpg)
सन् १९६० को दशकदेखि नै युरोप र अमेरिकाबाट हिप्पी पर्यटकहरू स्थलमार्ग हुँदै नेपाल भ्रमण गर्न आउन थालेका थिए, ७० को दशकसम्म त नेपालको पर्यटन पूरै हिप्पी पर्यटकले धानिसकेका थिए । उनीहरूको लवाई–खुवाई, रहन–सहन, फेसन र शैलीले काठमाडौंको व्यापारिक समुदायको एउटा युवालाई आकर्षित नगर्ने कुरै थिएन ।
२०२२ सालमा न्युरोडमा भेटिएका फ्रेन्च युवाहरूसँगको संगतबाट फ्रान्सको सपना बुनेका श्याममोहन श्रेष्ठ लामो समयसम्म नेपाल–फ्रान्स जोड्ने कडीका रूपमा कार्यरत रहे ।
नढाँटी, बनिबनाउ कत्थ्य र बढी आत्मरतिमा डुबेर लेखिएकाबाहेक आत्मकथाहरू समयकाललाई पछाडि फर्केर चिहाउने आँखीझ्याल हुन्, तिनले सम्बद्ध लेखकको मात्र होइन, त्यस समयका इतिहास, वस्तुस्तिथि र परिवेशको पनि व्याख्या गरिरहेका हुन्छन् । श्रेष्ठको पुस्तकले बाहिर ल्याएको एउटा तथ्य हो– नेपालमा खुलेको पहिलो क्यासिनो ।
हालसम्म नेपालको पहिलो क्यासिनो– क्यासिनो नेपाल, तत्कालीन अधिराजकुमार हिमालय शाहको नाममा खोलिएको यत्रयत्र उल्लेख हुँदै आए पनि श्रेष्ठले यो क्यासिनो भुटानी राजाका भाइ लेन्नी दोर्जेको मुख्य लगानीमा खुलासामात्रै गरेका छैनन, सन् १९६८ मार्चमा क्यासिनो खुलेको दुई वर्षपछि मात्र हिमालय शाह र उनकी श्रीमती प्रिन्सेपले स्वामित्व आफ्नो हातमा लिएको समेत खुलासा गरेका छन् ।
![](https://taksarnews.com/wp-content/uploads/2021/11/Book-Review_Shyam-Mohan-Shrestha-1-451x768.jpg)
क्यासिनो नेपालको क्रुपिकर (जुवा खेलाउने मान्छे)का रूपमा कार्यरत हुँदाको रमाइलो प्रसंग उल्लेख गर्दै श्रेष्ठले लेखेका छन, “त्यसताका राजा महेन्द्रका भाइ हिमालयशमसेर आफ्नी श्रीमती राजकुमारी प्रिन्सेस प्रिन्सेपसँगै आउनु हुन्थ्यो र मेरो टेबलुमा बस्नु हुन्थ्यो । एक दुई खेप पैसा हार्यो कि “हैन यो बच्चाले कस्तो पैसा खान्छ,” भनी राजकुमारी प्रिन्सेप कराउनु हुन्थ्यो ।
एक दिन प्रिन्स हिमालयले एउटा ड्रिंक मगाउनु भयो र पछि बिल तिर्दा एक सय रुपैयाँको नोट टिप्सस्वरूप बिलसँग राखिदिनु भयो । अनि, सो देखेर प्रिन्सेसले आफ्नो पर्सबाट सुट्ट १० रुपैयाँको नोट निकाली सयको ठाउँमा १० रुपैयाँको नोट राखी सयको नोट आफ्नो पर्समा राख्नु भयो । मैले यो सबै देखेर पनि नदेखेकोजस्तै गरें ।”
क्यासिनोमा काम गर्दा गर्दै अमेरिका बस्ने साथीले ‘नेपाल बसेर के गर्ने ? यतै आउ’ भनेको भरमा केही रकम लिएर स्थलमार्गबाट फ्रान्स पुगेर त्यहाँ काम नपाएपछि फेरि रित्तो हात नेपाल फर्केका श्रेष्ठको यो पुस्तक पाँच दशकअघिको परिवेश बुझ्न सहायक सामग्री हुने देखिन्छ । पुस्तक पढ्दै जाँदा पाठकले काठमाडौंबाट भारतको पटना, दिल्ली, अफगानिस्तानको काबुल, कान्दहर, हेरात हुँदै इरानको तेहरान, टर्कीको अंकारा, इस्तानाबुल, बेलग्रेड हुँदै फ्रान्ससम्मको यात्रा आफैले अनुभव गर्न सक्छन् ।
यात्राका क्रममा चिन्नु न जान्नुको लक्का जवानसँग आफ्नी छोरीको विवाह गराउन खोज्ने टर्किस आमादेखि समलिंगीहरूद्वारा झन्डै बलत्कारमा परेको, स्विस युवतीसँग एक दिने प्रेमदेखि फ्रान्सेली युवतीहरूसँगको मित्रतासम्मका अनुभूति पुस्तकमा बाँडिएको छ ।
पुस्तकमा श्रेष्ठले आफूले थानकोट–भीमफेदी–हेटौंडा केबलकार बनाउने योजना अगाडि बढाएको, चन्द्रागिरि केबलकार परियोजनामा चन्द्र ढकालका दाजुभाइबाट धोका पाएको प्रसंगलाई पनि इमानदारीपूर्वक उल्लेख गरेका छन् ।
फ्रान्सबाट फर्केपछि एयर फ्रान्सको जागिरे हुँदै जीएसएसम्मको जिम्मेवारी लिएका श्रेष्ठले मिराबल रिसोर्ट खोलेर लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा बलियो योगदान दिँदै आएका छन् । पुस्तकको कमजोर पक्ष भनेको यसको सम्पादन हो ।
लेखकले कुनै घोस्टराइटर प्रयोग नगराइ आफैले लेखेको पुस्तकमा भाषिक शुद्धता र सम्पादन पक्षमा त्यति ध्यान पुगेको छैन ।
प्रतिक्रिया दिनुहोस्