मौलाकाली केबलकार सञ्चालनमा, ५ मिनटमै मन्दिर पुग्न सकिने


गैँडाकोट । नवलपुरको गैँडाकोटमा आजदेखि मौलाकाली केबलकार सञ्चालनमा आएको छ । नयाँवर्षको अवसर पारेर शुक्रबारदेखि सेवा सुरु गरिएको मौलाकाली केबलकार ब्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए ।

शुक्रबार बिहान बहान ६ बजेदेखि केबलकार सञ्चालनमा आएको हो ।केबलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका वडा नं. ६ निवासी सय वर्षीया वृद्धा सरस्वती कँडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरेका हुन्
केवलकार मार्फत मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्नसकिने कम्पनीले जानकारी दिएको छ। करिब दुई किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन् । हाल केबलकारले दुइतर्फी मूल्य रु ५५० कायम गरिएको शाहले बताए ।

उनका अनुसार केबलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३३०, विद्यार्थीहरुको लागि रु ४१५ जेष्ठ नागरिकहरुको लागि रु ४१५ र फरक क्षमता भएकाहरुको लागि रु २७५ को टिकट दर राखिएको छ । केबलकारले ८० वर्षमाथिका वृद्धवद्धा र ३ फिटभन्दा कमका बालबालिकाहरुको लागि नि:शुल्क सेवा दिने जनाएको छ ।