सात लाखभन्दा बढीको नक्कली नोटसहित एक महिला पक्राउ


काठमाडाैँ । धनुषा प्रहरीले सात लाखभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरको छ । 
सात लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका ६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।

उनको साथबाट एक हजारको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ । जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीया अनुकुमारी साहको झोला तलाशी गर्दा यी नक्कली नोटहरु बरामद गरेको हो ।

महिलाले कालो रङको झोला बाकेर यताउती हिँड्दै गरेको देखेपछि प्रहरीले चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको हो । महिलाको खल्तीबाट नेपाली १० हजार ५ सय, भारतीय १६० समेत बरामद गरेको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए । उनले उक्त नक्कली नोट एक लाख बराबर ७ लाख सटही गरी ल्याएको निज महिलाले सोधपुछका क्रममा बोलेको पनि बताएका छन् ।

निज महिलासँगको सोधपुछपछि थप संलग्नता रहेकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म थप एक जनालाई पक्राउ गरिएको बताइएको छ ।