प्रस्तावित नेप्से–३० इन्डेक्सका लागि नेप्सेले माग्यो रायसुझाव


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘नेप्से–३०’ नामको एउटा छुट्टै सूचक (इन्डेक्स) ल्याउने तयारी गरेको छ ।

धितोपत्र दोस्रो बजार कारोबारलाई सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकाङ्कको विकास, सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ इन्डेक्स जारी गर्न लागिएको नेप्सेले जनाएको छ ।

नेप्सेले बिहीबार एक सूचना जारी गर्दै नेप्से–३० इन्डेक्सबारे विभिन्न सरोकारवालाबाट सुझाव लिएर केही समयभित्रै यसलाई सार्वजनिक गर्ने जनाएको छ ।

त्यसका लागि नेप्सेले आगामी जेठ ५ गतेभित्र सरोकारवालाहरुलाई सूचीकृत संगठित संस्था छनौटका आधारहरु तथा इन्डेक्स गणना विधि उपर आ–आफ्नो राय सुझाव दिन अनुरोध गरेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।

बजारमा तत्काल कारोबारयोग्य (फ्री फ्लोट) सेयरलाई समावेश गरी बजार पुँजीकरणमा आधारित (भ्यालु वेटेड) सूचकाङ्कको रुपमा नेप्से–३० इन्डेक्स तर्जुमा हुने नप्सेले जनाएको छ ।