यूनाइटेड इन्स्योरेन्स (नेपाल) लि.को विशेष साधारण सम्पन्न, के के गर्‍यो निर्णय ?


काठमाडौँ । यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. को विशेष साधारणले अजोड इन्स्योरेन्ससँग एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

आज अनमोल ब्याङ्गकेट, शंखमुल, काठमाण्डौंमा सम्पन्न साधारण सभाले अजोड इन्स्योरेन्ससँग एक आपसमा गाभिएपछि ‘यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’ नामबाट निर्जीवन बीमा व्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

यस्तै मर्ज हुँदा सेयर अनुपात १००ः८२.५ कायम गर्ने निर्णयलाई साधारण सभाले पारित गरेको छ ।

दुई कम्पनी एक आपसमा गाभिए पछि गठन हुने सञ्चालक समितिमा यूनाइटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रतिनिधिहरू तोक्ने अधिकार सञ्चालक समितिलाई दिने तथा गाभिए पछि बन्ने सञ्चालक समितिमा अजोड इन्स्योरेन्स लिमिटेडबाट आउने सञ्चालकलाई पदस्थापन एवं अनुमोदन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरिएको छ ।

यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. को साविक सञ्चालक समितिका सदस्यहरूको कार्यकाल जतिसुकै बाँकी रहेता पनि गाभ्ने/गाभिने कार्य सम्पन्न भई साबिक दुबै कम्पनीबाट प्रतिनिधित्व रहने गरी नयाँ सञ्चालक समिति गठन भए पश्चात विद्यमान सञ्चालकहरूको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिने उल्लेख छ ।

नयाँ सञ्चालक समितिको कार्यकाल समेत गाभिएपछि बन्ने कम्पनीको वार्षिक/विशेष साधारण सभा नभए सम्म मात्र कायम रहने प्रस्ताव पारित गरिएको कम्पनीले जनाएको छ ।