स्टार्टअपलाई प्रोत्साहन गर्न रु. १ अर्ब २५ करोड विनियोजन


काठमाडौँ । सरकारले स्टार्टअपलाई प्रोत्साहन गर्न रु. १ अर्ब २५ करोड विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले मुलुकमा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्टअप ईको सिस्टम विकास गरिने जानकारी दिए ।

उनले उद्यमशील सोच र संस्कृतिको विकास एवं उद्यमशील सोचलाई व्यवसायमा रुपान्तरण गर्न काठमाडौंमा इन्क्युवेसन सेण्टर सञ्चालन गरिने उल्लेख गरे ।

भेन्चर क्यापिटल र प्राइभेट ईक्विटी फन्डलाई स्टार्ट अप व्यवसायमा लगानी गर्न प्रोत्साहित गरिने पनि बजेटमा समावेश गरिएको अर्थमन्त्री महतले जानकारी दिए ।

विदेशी लगानी कम्पनीहरू मार्फत प्रवाह हुने वैदेशिक लगानीलाई प्रोत्साहन गरी नवप्रवर्तन र उद्यमशीलता विकासमा परिचालन गरिने बजेटमा उल्लेख छ ।