नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो


काठमाडौं । नेपालले पौने २२ खर्ब रुपैयाँ बराबरको सार्वजनिक ऋण तिर्न बाँकी रहेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालय सार्वजनिक गरेको चालु आर्थिक वर्षको मासिक प्रतिवेदन अनुसार नेपालले जेठ मसान्तसम्ममा रू २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको देखिएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार नेपालले रू १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र रू १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

सरकारले आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्नका लागि थप रू चार खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको छ ।

जसमध्ये रू दुई खर्ब ४० अर्ब आन्तरिक र रू दुई खर्ब १२ अर्ब ७५ करोड बाह्य उठाउने सरकारको लक्ष्य छ । चालु आर्थिक वर्ष २०७९/८० सुरु हुँदा अर्थात् गतवर्ष असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण रू २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख बराबर थियो । चालु आर्थिक वर्षको पछिल्लो ११ महिना अवधिमा मात्र रू एक खर्ब ५९ अर्ब ९५ करोड आठ लाख बराबर ऋण थपिएको छ ।

नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार रू ४८ खर्ब ५१ अर्ब ६२ करोडलाई आधार मान्दा जिडिपीमा सार्वजनिक ऋणको अनुपात ४४ दशमलव ७९ प्रतिशत पुगेको छ ।