रिलायबल नेपाल लाइफको आइपीओमा आजदेखि आवेदन खुल्यो


काठमाडौं रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आजदेखी आइपीओ निष्काशन गरेको छ । कम्पनीले असार २७ गते (आज)देखि पहिलो चरणमा वैदेशिक रोजगारीमा भएका नेपालीहरुका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

नेपाली धितोपत्र बोर्डबाट रिलायबल नेपाल लाइफले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न अनुमति पाएको छ। कुल कित्ताको १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो।

कम्पनीले अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपैयाँ दरमा आईपीओ जारी गर्न लागेको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

विदेशमा रहेका श्रमिकहरुले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

उक्त आइपीओमा साउन १० गते सम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।