मर्ज भएका बैंकको कर्जा ‘डिफल्ट’ देखाउँदा बढेको हो खराब कर्जा ?


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको खराब पछिल्लो एक वर्षमै झण्डै दोब्बरले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको देखाएको हो ।

त्यसमध्ये पनि सबैभन्दा बढी खराब कर्जा मर्जर तथा एक्विजिसन भएका वाणिज्य बैंकहरुको देखिएको छ । मर्जर भएका अधिकांश बैंकहरुको खराब कर्जा ४ प्रतिशतभन्दा माथि रहेको छ । मर्जर भएर एकिकृत कारोबार गरेका ४ ओटा बैंकहरुको खराब कर्जा खराब कर्जा ४ प्रतिशतभन्दा माथि रहेको छ ।

सबैभन्दा कुमारी बैंकको ४.७७ प्रतिशत, हिमालयन बैंकको ४.७५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ४.३५ प्रतिशत र प्रभु बैंकको ४.१६ प्रतिशत पुगेको छ । मर्ज भएका बैंकहरुले कर्जा डिफल्ट देखाउँदा खराब कर्जा बढेको बताउने गरेका छन् ।

एक वाणिज्य बैंकका उच्च अधिकारीले मर्ज भएका बैंकहरुको कर्जा डिफल्ट देखाउँदा खराब कर्जा बढेको बताए । उनले भने, “बैंकहरु मर्ज भएर आइसकेपछि ठुला बैंक भन्नेहरुले अर्को बैंकको लगानी गर्न नजानेको जसरी कर्जा डिफल्ट गरेको कारण खराब कर्जा बढेको छ ।” मर्ज नभएका बैंकहरुको खराब कर्जा बढेपनि मर्ज भएका बैंकहरुको अधिकांश कर्जा डिफल्ट देखाउँदा खराब कर्जा बढेको बताए ।

अर्का एक वाणिज्य बैंकका उच्च अधिकारीले मर्ज भएका बैंकहरुले ठुला बैंक र साना बैंक दुईटैको कर्जा डिफल्ट देखाउँदा खराब कर्जा बढेको बताए ।

पूर्व बैंकर अनलराज भट्टराईले मर्जसँग खराब कर्जाको लिंक नहुने बताए ।

“बैंकहरुले नेपाल राष्ट्र बैंकको नीतिको हिसाबले कर्जाको वर्गीकरण गर्नुपर्छ । अहिलेसम्म व्यापार व्यवासायमा मन्दी रहेको छ । कर्जा उठ्न सक्ने अवस्थामा रहेको छैन । व्यापार व्यवसाय नगद चक्र अप्ठेरो परेको अवस्था छ । यो भएको हुनाले यो समग्र अर्थतन्त्रको असर हो,” उनले भने, “उपभोक्ताको माग छैन । उत्पादन भएको वस्तुविक्री छैन । वस्तु विक्री भयो भने नाफा हुन्छ । नाफा भएपछि नगद चलायमान भएपछि बैंकको ऋण तिर्ने हो । बैंकको तिर्न सम्पती विक्री भइरहेको छैन । स्टक मार्केट डाउन छ । रियल स्टेट पनि डाउन छ । यसपटक बैंक र व्यवसाय लिंक भएको छ । मर्जको कारणले खराब कर्जा बढी देखिएको होइन ।”

मर्ज नभएका बैंकहरुको खराब कर्जा बढेको छ । अर्थतन्त्रमा समस्या आएको कारण खराब कर्जा बढेको बताइन्छ । मर्ज नभएका बैंकहरुको पनि खराब कर्जा दोब्बरले बढेको छ । प्राइम कर्मशियल बैंकको पनि खराब कर्जा ४.२३ प्रतिशत पुगेको छ ।

पूर्व बैंकर भट्टराईले बैंकहरुको आन्तरिक नियम भएका कारण मर्जरमा गएका एक बैंकको नियम अर्कोसँग फरक पर्ने भएका कारण केही हदसम्म हुने बताए ।

उनले भने,“मर्जरमा एउटा बैंक र अर्को बैंकको आन्तरिक नियम होला । आन्तरिकमा अलिकति फरक हुनसक्छ । राष्ट्र बैंकले दिने नियम ३ महिना ६ महिना र १ वर्षको नियम सबै बैंकलाई हो । त्यो भन्दा पनि कुनै बैंकलाई जोखिमलाई मुल्यांकन गरेर अलिकति बढी र अलिकति कम राखेको हुनसक्छ ।”

एक पूर्व बैंकरले कर्जा डिफल्ट देखाएको कारण खराब कर्जा बढेको सम्भावना पनि हुन सक्ने बताए । उनले भने,“यसमा कति सत्यता छ त्यो थाहा भएन । यसमा अर्को कारण पनि छ । साना बैंक ठुला बैंकसँग मर्ज भएपछि जुन साना बैंक मर्ज भए सबै दृष्टिकोणमा हेर्दा तिन कारण हुन सक्छ । कर्जा डिफल्ट देखाएर, गुणस्तर राम्रो नभएर लुकाउन गएका थिए त्यो देखिएको पनि हुनसक्ने र अहिलेको परिस्थतीको कारणले पनि त्यस्तो हुनसक्ने भयो ।”

पूर्व बैंकर भट्टराईले कतिपय मान्छे समुह बनाएर कर्जा तिर्नुपर्दैन भनेर आवाज उठाएपछि त्यसको नकारात्मक असर परेको बताए ।

“बैंक तथा वित्तीय संस्था र व्यापार व्यवसायमा जुन किसिमको विश्वासको संकट उत्पन्न भएको छ । कतिपय मान्छे समुह बनाएर कर्जा तिर्नुपर्दैन भनेर आवाज उठ्यो त्यसको नकारात्मक असर परेको छ,” उनले भने, “कर्जा लिने अनि तिर्नुपर्दैन भनेर कहाँ पाइन्छ ? तिर्नुपर्दैन भन्ने भावना आयो त्यसले गर्दा बिग्रिएको हो । नेपालमा सानो कर्जा जहिले पनि राम्रो थियो यसपाली सानो कर्जा बिग्रन थाल्यो त्यसले गर्दा कर्जाको जोखिम बढेको छ । जोखिम मर्ज भएको नभएको सबै क्षेत्रमा रहेको छ ।

कुन बैंकको खराब कर्जा कति ?

आर्थिक वर्ष २०७९ ८० मा सबैभन्दा बढी खराब कर्जा कुमारी बैंकको रहेको छ । कुमारी बैंकको खराब कर्जा ४.७७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा यो कर्जा १.११ प्रतिशत रहेको थियो । हिमालयन बैंकको खराब कर्जा ४.७५ रहेको छ । अघिल्लो आर्थिक वर्षमा यो कर्जा १.५९ रहेको थियो ।

अघिल्लो आर्थिक वर्षमा १.४९ प्रतिशत खराब कर्जा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको गत आर्थिक वर्षमा बढेर ४.३५ प्रतिशत पुगेको छ । प्रभु बैंकको खराब कर्जा ४.१६ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा १.८६ प्रतिशत खराब कर्जा रहेको थियो ।

यस्तै, गत आर्थिक वर्षमा ग्लोबल आइएमई बैंकको खराब कर्जा ३.०८ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा १.२८ प्रतिशत खराब कर्जा रहेको थियो । गत आर्थिक वर्षमा लक्ष्मी सनराइज बैंकको खराब कर्जा २.८१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा ०.८९ प्रतिशत रहेको थियो ।

नबिल बैंकको खराब कर्जा १.२३ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ०.६४ प्रतिशत खराब कर्जा रहेको थियो ।
यस्तै, गत आर्थिक वर्षमा प्राइम बैंकको खराब कर्जा ४.२३ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा १.७७ प्रतिशत रहेको थियो । सिटिजन्स बैंकको खराब कर्जा २.२२ प्रतिशतबाट बढेर ३.०८ प्रतिशत पुगको छ ।

अघिल्लो आर्थिक वर्षमा १.०४ प्रतिशत रहेको माछापुच्छ«े बैंकको खराब कर्जा बढेर २.१२ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा २.९५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा २.०९ प्रतिशत खराब कर्जा रहेको थियो ।

गत आर्थिक वर्षमा सिद्धार्थ बैंकको खराब कर्जा २.०१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा १.०७ प्रतिशत खराब कर्जा रहेको थियो । अघिल्लो आर्थिक वर्षमा १.४५ प्रतिशत रहेको एनएमबि बैंकको खराब कर्जा बढेर गत आर्थिक वर्षमा २.७२ प्रतिशत पुगेको छ ।

गत आर्थिक वर्षमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको खराब कर्जा १.१७ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ०.५९ प्रतिशत खराब कर्जा रहेको थियो । अघिल्लो आर्थिक वर्षमा १.८३ प्रतिशत रहेको नेपाल बैंकको खराब कर्जा बढेर २.८५ प्रतिशत पुगेको छ ।

गत आर्थिक वर्षमा सानिमा बैंकको खराब कर्जा १.३ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ०.३३ प्रतिशत खराब कर्जा रहेको थियो । अघिल्लो आर्थिक वर्षमा ०.१२ प्रतिशत रहेको एभरेष्ट बैंकको खराब कर्जा ०.७९ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा एनआईसी एशिया बैंकको खराब कर्जा ०.८० प्रतिशत पुगेको छ अघिल्लो आर्थिक वर्षमा ०.५६ प्रतिशत खराब कर्जा रहेको थियो ।

गत आर्थिक वर्षमा कृषि विकास बैंकको खराब कर्जा २.४८ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा २.०९ प्रतिशत खराब कर्जा रहेको थियो । अघिल्लो आर्थिक वर्षमा ०.१५ प्रतिशत रहेको नेपाल एसबिआई बैंकको खराब कर्जा बढेर २.४३ प्रतिशत पुगेको छ ।