अर्थमन्त्री भन्छन्ः गर्भनरले नमानेपछि मैले के गर्ने ?


काठमाडौँ । सेयर धितोमा कर्जा सीमा हटाउन अर्थमन्त्री डा.प्रकाश शरण महतको प्रयास पनि असफल हुने देखिएको छ ।

नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति मार्फत सेयर कर्जा धितोमा ४–१२ को सीमा लगायो ।

लगानीकर्ताले एउटा बैंकबाट ४ करोड रुपैयाँ र समग्र बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँ मात्रै सेयर धितोमा कर्जा लिन पाउने व्यवस्था ग¥यो ।

राष्ट्रबैंकको उक्त नीतिसँगै इतिहासमै उच्च विन्दु ३२०० अङ्कमा पुगेको नेप्से परिसूचक ओरालो लाग्न थाल्यो ।

उक्त नीतिसँगै लगानीकर्ताले धमाधम सेयर बेच्न थालेपछि बजार प्रभावित बन्न सुरु गरेको सेयरबजारका विज्ञहरू बताउँछन् ।

४–१२ करोडको क्यापले ‘प्रभावित बनेको’ बजार २५ महिना पुग्दासम्म पनि माथि उठ्न नसकेको उनीहरूको तर्क छ ।

तत्कालिन अर्थमन्त्री जर्नादन शर्माले विभिन्न सार्वजनिक कार्यक्रममा सेयर कर्जाको विषय संसोधन हुने भनेर अभिव्यक्ति दिइरहे । गर्भनर महाप्रसाद अधिकारी र तत्कालिन अर्थमन्त्रि शर्माबिच हुने हरेक छलफललाई जोडेर ४–१२ को क्याप हट्ने भनेर हल्ला फैलाइन्थ्यो ।

त्यस्तै अभिव्यक्तिलाई आधार बनाएर बेला बेलामा बजार ५०–१०० अंक सम्मको बढोत्तरी ल्याउने काम भयो । अन्ततः शर्मा सेयर धितो कर्जा संसोधनको विषयमा सफल हुन सकेनन् ।

“गर्भनरसँग मेरो केही लागेन मैलै प्रयास गरे पनि गर्भनर नमान्दा ४–१२ को क्याप हटाउन असमर्थ भए, मैले प्रयास गरेकै हो” भन्ने जस्ता अभिव्यक्ति तत्कालीन अर्थमन्त्री शर्माको सुनिन्थ्यिो ।

अर्थतन्त्रका विभिन्न पक्षलाई लिएर तत्कालीन अर्थमन्त्री शर्मा र गर्भनर अधिकारबिच सम्बन्ध चिसियो । एउटै कार्यक्रममा भेट हुँदा गर्भनर र शर्माबीच बोलचाल नै नहुने स्थिति थियो । सबै प्रयासकाबिच पनि गर्भनर अधिकारीले सेयर धितो कर्जामा लगाएको सीमा संसोधन हुने छनक नै देखाएनन् ।

राष्टबैंकले आर्थिक वर्ष २०७९/८०को मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा ४–१२ करोडको सीमामा संसोधन गर्दै ४ करोडको सीमा हटाएर १२ करोडको सीमा यथावत राखेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्टबैंकले उक्त व्यवस्थामा संसोधन नगरी यथावत राखेको छ ।

अहिलेका अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि सेयर धितो कर्जामा संसोधन हुने आश्वासन लगानीकर्तालाई दिइरहेका थिए । यसै विषयलाई लिएर बजारमा ‘ हल्लाखोर’ हुने गरेको छ ।

सार्वजनिक कार्यक्रमै अर्थमन्त्री महतले राष्टबैंक सँग कुरा भएको र गर्भनर १२ करोडको सीमा हटाउने विषयमा सकरात्मक भएको हुनाले छिट्टै सकरात्मक खबर आउने भन्दै अभिव्यक्ति दिएका थिए ।

अर्थमन्त्री र गर्भनर अधिकारीको भेटवार्ता भएका समाचारहरू १२ करोडको सीमा हट्ने विषयमा केन्द्रित हुन्थ्यो । सोमबार (आज) नेपाल धितोपत्र बोर्डले आयोजना गरेको विश्व लगानीकर्ता सप्ताह –२०२३को अवसरमा आयोजित कार्यक्रममा राष्ट्रबैंकलाई लक्षित गर्दै छिट्टै केही निर्णय आउने बताए । उनले नियमनकारी निकायहरूको ‘माइक्रो म्यानेजमेन्ट’का कारण सेयरबजारमा गिरावट आएको उल्लेख गर्दै त्यसबारे छिट्टै केही निर्णय आउने विश्वास लिएको बताए ।

भित्र आश्वासन दिँदै भाषण गरेका अर्थमन्त्रिलाई कार्यक्रमबाट बाहिरिँदै गर्दा लगानीकर्ताले घेरेर १२ करोडको सीमा हटाउनको लागि पहल गरिदिन फेरि आग्रह गरे । उनीहरूले नीतिगत व्यवस्थालाई परिमार्जन गर्दै उक्त व्यवस्था हटाउनुपर्ने माग गरे । तर अर्थमन्त्रीले भने केही गर्न नसक्ने अवस्थाको छनक दिएका थिए ।

एक लगानीकर्ताका अनुसार अर्थमन्त्रीले लगानीकर्तालाई ‘तपाईहरू जुन पायो त्यही कम्पनीमा लगानी गर्नुहुन्छ अनि डुब्यो भनेर सरकारसँग गुनासो गर्ने’ भनेका थिए । अर्थमन्त्रीले ‘१२ करोडको सीमा हटाउ भनेर गभर्नरलाई भने पनि गर्भनर नमानेपछि मैले के गर्ने ?’ भन्दै बाहिरिएको लगानीकर्ताहरूले बताए ।