रुस-युक्रेन युद्धमा ६ जना नेपाली मारिएकाे पुष्टि,एक जना बन्दी


काठमाडौँ । रुस युक्रेन युद्धमा ६ जना नेपालीको मृत्यु भएको सरकारले पुष्टि गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ति भएका ६ जना नेपालीको युद्धमा मृत्यु भएको पुष्टि गरेको हो ।

मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरेको छ ।

अहिलेसम्म मृत्यु हुनेमा गोरखाका सन्दिप थपलिया, कपिलवस्तु,वाणगंगा–१ का रुपक कार्की, पोखरा कास्कीका देवान राई, पितम कार्की स्याङ्गजा,पुतलीबजार–५ का पितम कार्की, राज कुमार रोका दोलखा, मेलुङ्ग–६ का राजकुमार रोका, इलाम–५, इलामका गंगाराज मोक्तान रहेका छन् ।

परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको जानकारी गराएको छ ।

मन्त्रालयले सरकारी कामकाज, रुसी सरकारको छात्रवृति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तरगतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने नो अब्जेक्सन लेटर लिएर मात्र यात्रा गर्न भनेको छ ।

मन्त्रालयले कसैको प्रलोभनमा परेर गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरूको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रुपमा रहेको सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरूभर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको व्यहोरा स्पष्ट गरेको छ ।

सरकारले रुसी सरकारलाई मृतकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरूलाई क्षतिपूर्ती उपलब्ध गराउन अनुरोध गरेको छ ।