कृषिमन्त्री अधिकारी र मेक्सिको कृषिमन्त्री बर्डेगाबिच भेटवार्ता,कृषि विकासमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता


काठमाडौँ । मेक्सिको भ्रमणमा रहेका नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मेक्सिको सरकारका कृषि तथा ग्रामीण विकास मन्त्री जुलियो बर्डेगासँग कृषि सहकार्यको सम्भावनाबारे भेटवार्ता गरेका छन् । बैठकमा दुवै देशका प्रतिनिधिहरूले मकै र गहुँको उत्पादन प्रविधि आदानप्रदान, प्राविधिक सहयोग, र बजार पहुँच विस्तारका विषयमा छलफल गरेका थिए।

नेपालको प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय मकै र गहुँ सुधार केन्द्र (सिमिट) को मुख्यालयमा मेक्सिको सरकारले अपनाएको ‘मासएग्रो’ नमुना अवलोकन गरेको थियो। उक्त नमुनाले किसानहरूको उत्पादनलाई आधुनिक प्रविधिहरूसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको, उत्पादन बढाएको, र उद्योगसँग सम्बद्धता स्थापित गरेको पाइएको थियो। नेपालले यस्तै प्रविधिहरूको सहकार्यमार्फत मकै र गहुँ मूल्य श्रृंखला सुदृढ गर्न चाहेको जानकारी मन्त्री अधिकारीले गराए ।

मन्त्री अधिकारीले नेपालको कृषि लगानी दशकको अवधारणाबारे जानकारी गराउँदै नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन अन्तर्राष्ट्रिय साझेदारीको महत्त्व उल्लेख गरे । साथै, जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावलाई सम्बोधन गर्न प्राविधिक पहुँच र कृषि उत्पादनको अन्तर्राष्ट्रिय बजार पहुँच वृद्धि गर्न मेक्सिकोको सहयोग अपेक्षा गरिएको छ।

सिमिटका महानिर्देशकसँगको छलफलमा नेपालमा सिमिटको भूमिकालाई सशक्त बनाउने, मकै र गहुँ उत्पादनमा सहकार्य विस्तार गर्ने र साना किसानलाई सहयोग पुर्‍याउने मोडेलहरू लागू गर्ने विषयमा सहमति भएको थियो। साथै, नेपालमा सिमिट क्षेत्रीय तालिम केन्द्र स्थापना र अनुसन्धान तथा विकासका लागि थप लगानीको खाँचो पनि औंल्याइएको थियो।

मन्त्री अधिकारीले सन् २०१५ मा भूकम्पपछिको पुनर्निर्माणमा मेक्सिको सरकारबाट प्राप्त सहयोगको लागि आभार व्यक्त गर्दै आगामी दिनमा नेपाल र मेक्सिकोबिचको द्विपक्षीय सम्बन्धलाई अझै सुदृढ बनाउने आशा व्यक्त गरे ।