आजदेखि धरहरा सबैका लागि खुला, प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क लाग्ने


काठमाडौँ। आजदेखि धरहरा सशुल्क सबैले चढ्न पाउने गरी खुला गरिएको छ ।

गत बिहिबार बसेको मन्त्रिपरिषद बैठकले सशुल्क रुपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएको थियो ।

नेपालीले धरहरा चढ्दा प्रतिव्यक्ति दुई सय रुपँया लाग्नेछ भने नुसार सार्क मुलुकका जनतालाई पाँच सय र सार्क बाहेक अन्य मुलुकका नागरिकलाई १ हजार रुपैयाँ शुल्क तोकिएको छ।

विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा एक सय रुपैयाँ मात्र तिर्नु पर्नेछ । लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछ व्यवस्था गरिएको हो ।

विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म हाललाई शहरी विकास भवन निर्माण तथा आवास विभागको प्रस्तावमा शुल्क लिई धरहरा सञ्चालन गर्न स्वीकृत दिइएको हो ।

अब धरहरा परिसर प्रवेश शुल्क ५० रुपैयाँ लाग्नेछ भने पार्किङका लागि चार पाङग्रे सवारी साधनको लागि २० रुपैयाँ र दुई पांग्रेको लागि १० रुपैयाँ पार्किङ शुल्क लाग्नेछ।

वि.सं. २०७२ को महाभुकम्पका कारण काठमाडौँ सुन्धारास्थित धरहरा ढलेपछि छेउमै नयाँ धरहरा निर्माण गरिएको हो । असोज ३ गते संविधान दिवसको दिनबाट खुला धरहरा चढ्न केही समयमा लागि निशुल्क खुला गरिएकोमा व्यवस्थित रुपमा सञ्चालन गर्न आइतवारदेखि सशुल्क रुपमा खुला गरिएको सरकारले जनाएको छ ।

धरहरामा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ तिर्नुपर्नेछ भने धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार शुल्क तिर्नुपर्नेछ।