सहकारी क्षेत्रमा  देखिएका विकृति र अनियमितताको निराकरण गर्न विधेयक ल्याइएको होः मन्त्री अधिकारी


काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा  देखिएका विकृति र अनियमितताको निराकरण गर्न ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१’ ल्याइएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरूले विरोधको सूचना राखेपछि जवाफ दिँदै मन्त्री अधिकारीले प्रचलित कानूनमा आवश्यक संशोधन गरी सहकारी बचतकर्ताको वचत फिर्ता गर्न र बचत सुरक्षा गर्न विधेयकले महत्वपूर्ण भुमिका खेल्ने बताएका हुन् । उनले विधेयकले तीन तहको सरकारबिच समन्वय र सहकार्य गरी सबै सहकारीमा सबै वर्गको सहभागिता बढाउने जिकिर गरे ।

“सहकारीको क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न, प्रचलित कानूनमा आवश्यक संशोधन गरि बचतकर्ताको बचत फिर्ता गर्न र बचत सुरक्षा गर्न, नियमन प्राधिकरणको व्यवस्थालाई व्यवस्थित गरि गलत गर्नेलाई कारबाही गर्न, तीन तहको सरकारमा समन्वय गरि सहकारीलाई अझै व्यवस्थित गर्न र सबै वर्ग र तहको प्रतिनिधित्व गर्न यो विधेयक गरेको छ । आईसिएले तोकेका विधिअनुरुप नै विधेयक आएको कारण विरोधका सूचनाहरु फिर्ता लिन अनुरोध गर्दछु,” उनले भने ।

उनले सहकारी क्षेत्रलाई पारदर्शी र प्रभावकारी बनाउन उक्त विधेयक सहयोगि हुने बताए ।