काठमाडौँ । जडिबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको अरनिको राजमार्ग क्षेत्रमा सडक सीमाभित्र रहेका अनधिकृत संरचना हटाउन काठमाडौँ महानगरपालिका र सडक विभागले संयुक्त सूचना प्रकाशित गरेका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग, डिभिजन सडक कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिकाले वैशाख २९ गते संयुक्त सूचना जारी गर्दै सार्वजनिक सडकको सीमा मिचेर बनाइएका संरचना ३५ दिनभित्र सम्बन्धित व्यक्तिले स्वयं हटाउन निर्देशन दिएका हुन्।
“२०८२ साल वैशाख १० गते संयुक्त रूपमा जडिबुटीदेखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँबायाँ १५-१५ मिटर क्षेत्रको सीमाङ्कन र चिनो लगाइएको छ,” सूचनामा भनिएको छ ।
यस क्षेत्रभित्र सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को अवज्ञा गर्दै नक्सा पास नगरी वा नक्सा पास विपरीत बनाइएका सबै संरचनाहरू हटाउन सूचना मार्फत आग्रह गरिएको छ।
तोकिएको ३५ दिनको अवधि (सूचना प्रकाशित भएको मितिबाट गणना गरिने) भित्र संरचना हटाइ नसकिएमा सार्वजनिक सडक ऐन, २०३१, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा भवन निर्माणसम्बन्धी मापदण्ड र कार्यविधिअनुसार कारबाही अघि बढाइने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्