काठमाडौँमा सिद्धार्थ केवलकार लिमिटेडकाे केन्द्रीय कार्यालय सञ्चालन,आइपिओ निष्काशनको तयारी


काठमाडौँ । सिद्धार्थ केवलकार लिमिटेडले काठमाडौँमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ ।

काठमाडौँको तीनकुनेमा सञ्चालन ल्याएको केन्द्रीय कार्यालयको आज प्रभु ग्रुप्सका अध्यक्ष भोज कुमार खड्का र सिद्धार्थ केबलकार लिमिटेडका सञ्चालक ई. रमेशकुमार सापकोटाले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेको हुन् ।

प्राथमिक सेयर (आइपिओ) निष्कासनको सहजिकरण गर्न र कम्पनीको व्यापार प्रवर्धन एवं बजारीकरण गर्न केन्द्रीय कार्यालय सञ्चालनमा ल्याइएको केबलकारका प्रबन्ध सञ्चालक प्रभुलाल अधिकारीले जानकारी दिए ।

उनले भने,“हामी आइपिओ ल्याउँदै छौँ यसको सहजिकरणका लागि पनि केन्द्रीय कार्यालय काठमाडौँमा खोलेका हौँ । साथै बजारीकरण र व्यापार प्रवर्धनका लागि पनि काठमाडौँमा केन्द्रीय कार्यालय आवश्यक थियो ।”

प्रभु ग्रुप्सको सहायक कम्पनीे प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडको लगानीमा सञ्चालित सिद्धार्थ केबलकार रुपन्देहीमा रहेको छ ।

गत भदौ १९ गतेदेखि रुपन्देहीमा सञ्चालनमा आएको केवलकारमा हालसम्म दश महिनाको अवधीमा २ लाख ७५ हजार जनाभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकहरूले यात्रा गरिसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्दै छ । कम्पनी अन्तर्गत नुवाकोट गढी पर्यटन कम्पनी, ऋषि कालदेवल पर्यटन कम्पनी र हिलसाइड भिलेज रिसोर्ट सहित थप तीनओटा कम्पनीहरू सञ्चालनमा आउने तयारीमा छन् ।

भगवान गौतम बुद्धका अनुयायीहरूले अत्यधिक यात्रा गर्ने लुम्बिनी क्षेत्रमा रहेको सिद्धार्थ केबलकारे नेपालको पहिलो बौद्ध धर्मावलम्बी लक्षित केवलकार परियोजना भएको कम्पनीले जनाएको छ ।

सिद्धार्थ केवलकार भगवान गौतम बुद्धको कुलगरुको आश्रम र पाल्पा जिल्लाको नुवाकोटमा रहेको पुरानो भैरवकामना मन्दिरमा जाने गर्दछ ।

यस केवलकारले प्रति घण्टा ७०० यात्रुहरुलाई यात्रा गराउँदछ । कार्यालयको शुभारम्भका लागि कम्पनीका सञ्चालक ई.रमेशप्रसाद सापकोटाले वैदिक विधि अनुसार पूजा गरेका थिए ।

प्रभु केबलकारको अरु थप दुईवटा केवलकार परियोजनाहरू निर्माणको विभिन्न चरणमा रहेका छन् ।

जसमा ईच्छाकामना देवी केवलकार परियोजना रु.३५० करोड लगानीको परियोजना हुनेछ भने बाजुरा जिल्लामा अवस्थित बढीमालिका केवलकार परियोजना भने रु.५०० करोडको हुनेछ ।