काठमाडौँ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा गौतम बुद्धको विशाल प्रतिमा निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। थाङपाल गाउँपालिका ७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुंगा) मा निर्माणाधीन प्रतिमा निर्माणको कामले गति पाएको हो।
गाउँपालिका अध्यक्ष टाशी लामाले यस परियोजनालाई पालिकाको गौरवको योजनाका रूपमा लिएको जानकारी दिए। धार्मिक, साँस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको यो बुद्धको प्रतिमा एउटै ठूला ढुङ्गामा कुँदिएको एकै टुक्राको प्रतिमा हुने लक्ष्य राखेर बनाइँदैछ। ८४ फिट अग्लो बुद्धको शिरको निर्माण कार्य पूरा भइसकेको छ भने अन्य भागहरूको निर्माण तीव्र रूपमा जारी रहेको छ।
अध्यक्ष लामाका अनुसार विश्वका धेरै ठूला बुद्धका प्रतिमा टुक्रा–टुक्रा ढुङ्गा जोडेर बनाइएका छन्। हामी भने एउटै ढुङ्गामा इतिहासमै पहिलोपटक यस्तो कार्य गर्दैछौं। परियोजनाको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको छ र आगामी वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
पाँचपोखरी गाउँपालिका, बागमती प्रदेशको समन्वय र राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक सहयोगमा प्रतिमा निर्माण भइरहेको छ। अध्यक्ष लामाले यस परियोजनाले धार्मिक पर्यटन प्रवर्द्धन गर्न, स्थानीयको आर्थिक समृद्धिमा योगदान पुर्याउन र पाँचपोखरी थाङ्पाललाई अध्यात्मिक भूमि तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रूपमा चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उनले देश तथा विदेशमा रहेका नेपाली तथा श्रद्धालुहरूलाई आर्थिक सहयोग गर्न पनि आग्रह गरे । सहयोग गर्नेहरूको नाम शिलालेखमा राखिने व्यवस्था गरिएको छ।
अध्यक्ष लामाले भने, “विश्वभरका बौद्ध अनुयायीहरू यस प्रतिमाबाट आकर्षित हुनेछन्। प्रतिमा निर्माणपछि गाउँपालिकाले यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना बनाएको छ।”
प्रतिक्रिया दिनुहोस्