लिपुलेकबारे चीनसँग मैले राखेको धारणा रेकर्डेड छः प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत–चीनबिचको समझदारीप्रति असहमति जनाएको स्पष्ट पारेका छन् ।

शुक्रबार एमालेको विधान अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङसँग भएको औपचारिक वार्तामा सो विषयमा स्पष्ट आपत्ति राखेको बताएका हुन्। प्रधानमन्त्री ओलीका अनुसार सो आपत्ति अडियो, भिडियो तथा कूटनीतिक नोटमा समेत दर्ज गरिएको छ ।

राष्ट्रपति सीले नेपाल–भारतबिचको सीमा सम्बन्धी विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सुझाव दिएको र नेपालको सार्वभौमसत्तामा कुनै हस्तक्षेप नहुने आश्वासन दिएको ओलीको भनाइ छ । “चिनियाँ राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डताप्रतिको दृढ समर्थन व्यक्त गर्नुभयो । लिपुलेक विवाद समाधान भारतसँग वार्ता गरेर गर्नुपर्ने धारणा उहाँले राख्नुभयो,”उनले भने ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो प्रत्येक विदेश भ्रमण राष्ट्रको इज्जत, प्रतिष्ठा र राष्ट्रिय हितको संरक्षणका लागि हुने गरेको दाबी गरे। “मैले कहिल्यै पनि राष्ट्रको हितविरुद्ध कुनै गतिविधि गरेको छैन, नगर्ने पनि प्रतिबद्धता व्यक्त गर्दछु,” उनले भने ।

प्रधानमन्त्री ओलीले हालैको स्पेन भ्रमणलाई पनि अत्यन्तै सफल भएको बताउँदै त्यसबारे प्रचारमा आएका विभिन्न विवादपूर्ण टिप्पणीलाई अस्वीकार गरे । उनले विरोधीहरूले योजनाबद्ध ढंगले गलत प्रचार गरेको आरोपसमेत लगाए ।