आन्दोलनमा धनजन क्षतिप्रति संस्थापक अध्यक्ष बानियाँद्वारा दुःख प्रकट, सरकारलाई संवेदनशील बन्न आग्रह


काठमाडौँ। चन्द्रागिरि नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष राजेन्द्र विक्रम बानियाँले हालै युवाहरूले सुधारका मागसहित सञ्चालन गरेको आन्दोलनका क्रममा भएको धनजनको क्षतिप्रति दुःख प्रकट गरेका छन्।

उनले एक विज्ञप्ति जारी गर्दै जीवन गुमाउने युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन् भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

विज्ञप्तिमा बानियाँले मर्यादित रोजगारी, स्वरोजगार, उद्यमी व्यवसायीले तिरेको राजस्वको सदुपयोग लगायतका विषयमा युवा पुस्ताले उठाएको चासोलाई सम्बोधन गर्न सरकार र राजनीतिक दलहरुलाई संवेदनशील बन्न आग्रह गरेका छन्।

मुलुकमा थप निराशा र अशान्तिको वातावरण नबढोस् भन्दै उनले आन्दोलनका क्रममा उद्यमी तथा व्यवसायीहरूमाथि परेको क्षतिप्रति चिन्ता व्यक्त गरेका छन्।

उनले आफ्नै देशमै रोजगारी र स्वरोजगारको अवसर सिर्जना गर्ने दायित्वमा निजी क्षेत्र सधैं अग्रणी रहे पनि बारम्बार धनजनको क्षति भइरहँदा आर्थिक लक्ष्य हासिल गर्न कठिन हुने बताए।

हालैको आन्दोलनमा चन्द्रागिरि नगरभित्र उद्योग, व्यवसाय, प्रहरी चौकी, सरकारी तथा निजी सम्पत्ति, सवारीसाधनमा आगजनी हुनु र त्यसपछिका घटनाले अर्थतन्त्र र मानवतामा गम्भीर आघात पुर्‍याएको उनको भनाइ छ।

बानियाँले उद्यम र व्यवसायलाई पुनः संचालनमा ल्याउँदै अर्थतन्त्रलाई माथि उठाउन अपरिहार्य भएको उल्लेख गर्दै उचित क्षतिपूर्ति र भयरहित वातावरण निर्माण गर्न नेपाल सरकार र सरोकारवालासमक्ष आग्रह गरेका छन्।