जेनजी विद्राेहपछिकाे सङ्कट : सामूहिक जिम्मेवारीको अवसर


जेनजी विद्रोहपछि आज नेपालमा फेरि अन्योल बढेको छ । राष्ट्रिय पूर्वाधार, निजी उद्योग, घर र सम्पत्तिमा भएको आगजनीले भौतिक संरचनामा मात्र होइन, नेपाली उद्यमशीलताको आत्मामा समेत गहिरो चोट पुर्‍याएको छ ।

हामीले विगतमा युद्ध देख्यौँ, भूकम्प सह्यौँ र महामारी पार गर्‍याैँ। हरेक सङ्कटले हामीलाई झुकायो तर प्रत्येकपटक हामी नयाँ चेतना र अडिग दृढताका साथ फेरि उभियौँ । आज इतिहासले हामीलाई फेरि त्यही मोडमा ल्याइपुर्‍याएको छ । प्रश्न स्पष्ट छः अब के गर्ने ? डरले पछि हट्ने, कि साझा आँट गरेर अगाडि बढ्ने ?

व्यवसायको बाटो कहिल्यै पनि सीधा हुँदैन । हामीले सङ्कटलाई असामान्य नभई, जीवनचक्रको एक अनिवार्य अंश मान्नुपर्छ । उद्यमीहरूको भूमिका केवल नाफा कमाउनेमा सीमित हुँदैन, उनीहरू राष्ट्रको अर्थतन्त्रका स्तम्भ, रोजगारी सिर्जना गर्ने र भविष्यका लागि आशाका वाहक पनि हुन् ।

यस्ता कठिन समयले जोखिम व्यवस्थापन र दिगोपनाको महत्व झन् उजागर गर्छ । बिमा, आपूर्ति शृङ्खलाको वैकल्पिक व्यवस्था, वित्तीय पारदर्शिता र डिजिटल सुरक्षा अब विलासिताका साधन मात्र होइनन्, बरु उद्यमको दिगो अस्तित्वका लागि आवश्यक कवच हुन् भन्ने पाठ यसले सिकाएको छ तर यी मात्र पर्याप्त छैनन् ।

उद्यमले समाजसँग विश्वासको अटुट बन्धन बनाउनुपर्छ भन्ने शिक्षा पनि यसले दिएको छ ।

विद्रोहपछि गठन भएको अन्तरिम सरकारसँगको सहकार्य व्यवसायीहरूसँग अझ महत्वपूर्ण हुने दृष्टिकोणका साथ, व्यवसायी समुदायले सुरक्षा, नीतिगत स्थिरता र पुनर्निर्माणका लागि आवश्यक सहजताको माग गर्नुपर्छ ।

सरकारले पनि यो बुझ्नुपर्छ कि उद्यमीहरू नै राष्ट्रिय पुनर्निर्माणका मुख्य इन्जिन हुन् । एकअर्काका पूरक हुने सोच अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो ।

सम्भावनाको खोजी

यदि सम्भावनाको खोजी गर्ने हो भने, जेनजी विद्रोह नयाँ युगको सुरुवात पनि हुन सक्छ ।

सङ्कटमा नै नयाँ अवसरहरूको जन्म हुन सक्छ भन्ने कुरा बुझियो भने पुनर्निर्माणका लागि आवश्यक निर्माण सामग्री, स्वास्थ्य सेवा, शिक्षा, कृषिमा आधारित उद्योग र डिजिटल सेवा जस्ता क्षेत्रहरूमा असीम सम्भावनाको ढोका खुलेको छ । र, यही जेनजी पुस्ता नै हाम्रो सबैभन्दा ठुलो सम्पत्तिको रूपमा प्रयोगमा आउने सम्भावना रहेको छ ।

उनीहरूभित्र व्यावहारिक रूपमा राजनीतिक शिक्षा ग्रहण गर्ने जबर्जस्ती वातावरण तयार भएको छ, जुन सबै सरोकारवाला र सिङ्गो देशका लागि एउटा अतुलनीय सम्पत्ति बनेको छ ।

डिजिटल रूपमा साक्षर, नवीन विचारको ऊर्जाले भरिपूर्ण र परिवर्तनका लागि तत्पर यही जेनजी पुस्ता हो जसले डिजिटल मार्केटिङ, सामाजिक प्रभाव, स्टार्टअप, हरित प्रविधि (ग्रिन टेक्नोलोजी) र सिर्जनशील अर्थतन्त्र (क्रियटर इकोनोमी) जस्ता क्षेत्रहरूबाट नेपालको अर्थतन्त्रलाई नयाँ आयाम दिन सक्छन् ।

देशमा, पुरानो अनुभव र नयाँ ऊर्जाको संगमले मात्रै यस सङ्कटलाई अवसरमा परिणत गर्न सक्छ । यो समय हामीलाई हाम्रा युवाहरूमाथि विश्वास गर्ने, उनीहरूमा लगानी गर्ने र उनीहरूको आवाजलाई स्थान दिने हो । अतः सहकार्यको शक्तिले सबै सरोकारवालाहरू एकजुट भई अगाडि बढ्नुको विकल्प छैन ।

देश आज सङ्कटमा छ, यो सत्य हो तर यो सङ्कटले हामीलाई कमजोर मात्र होइन, अझ बलियो र एकताबद्ध बनाउने शिक्षा पनि दिइरहेको छ । यो समय डराएर लुक्ने होइन, निराशामा डुब्ने होइन, बरु शोकलाई शक्तिमा बदलेर अन्तरिम सरकार, अनुभवी उद्यमी र जेनजीसहितको साझा प्रयास र सङ्कल्पका साथ उभिने हो ।

हामी उद्यमीहरूले राम्ररी बुझ्नुपर्छ-व्यवसाय केवल नाफा कमाउने साधन होइन, यो राष्ट्र निर्माणको एउटा लामो र महान् यज्ञयात्रा हो । हाम्रा अगाडिका हिंसा र अस्थिरताका अँध्यारा बादलहरू अस्थायी मात्र हुन् ।

उद्यमशीलताको गुञ्जन राष्ट्रप्रेमी धुनले झन् उज्यालो र चिरस्थायी रुझान बन्नुपर्छ । हामी फेरि उठ्नेछौँ, यसको मतलब मातृभूमि नेपाल फेरि उठ्नेछ ।

नेपाली आमा फेरि मुस्कुराउनेछिन् र यही मुस्कानयुक्त पुनर्जागरणको अग्रपङ्क्तिमा सरकार, व्यवसायी र युवा पुस्ता तीनैको साझा सहकार्यको फराकिलो आँगनमा हामी मिलेर खेल्नेछौँ ।

यही नै त्यो ऐतिहासिक क्षण हो जब हामी सबैले मिलेर देशलाई आर्थिक मात्र नभई सामाजिक र नैतिक शक्ति पनि प्रदान गर्नुपर्छ । यही चेतना र दृढताबाट नै हाम्रो भविष्यको मार्ग प्रशस्त हुनेछ ।

ढुक्क हौँ, खरानीको टीकासहित कसम खाएर हामी झन् राम्रो बनौँ, देशलाई झन् राम्रो बनाऔँ !

लेखक शर्मा युवा उद्यमी अभियानकर्मी हुन् ।