दसैँबजारमा सस्तो भन्दा गुणस्तरीय वस्तु प्रयोग गर्न उपभोक्तालाई महानिर्देशक वैद्यको आग्रह


काठमाडाैँ । अहिले चाडपर्व नजिकिँदै गर्दा दसैँबजारको रौनक सुरू भइसकेको छ । यस समयमा उपभोक्ताहरू सस्तोमा समान किन्नतर्फ आकर्षित हुने गरेका छन् । तर सस्तो भन्दा पनि गुणस्तरीय वस्तु छनोट गर्नुपर्नेमा सरकारी अधिकारीहरूले विशेष जोड दिएका छन् । लत्ता कपडादेखि खाद्य वस्तु खरिदसम्म उपभोक्ताले सचेत हुनुपर्ने बताइएकाे छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यका अनुसार बजार गर्दा हतार नगरी लेबल जाँच्ने बानी बसाल्नुपर्छ । उनले खाद्य वस्तुमा एक्सपायरी डेट र ‘इन्ग्रेडियन्टस’ अनिवार्य हेर्नुपर्नेमा जोड दिँदै, उपभोक्ताले आफ्नो शारीरिक अवस्थाअनुसार कुन–कुन तत्व स्वास्थ्यका लागि उपयुक्त छन् वा वर्जित छन् भन्ने बुझ्न जरुरी रहेको बताइन् ।

डा. जोशीका अनुसार ट्रान्सफ्याटजस्ता तत्व स्वास्थ्यका लागि हानिकारक हुन्छन्, त्यसैले यस्तो पदार्थ भएको वस्तु प्रयोग गर्न हुँदैन । त्यस्तै, चिनी र चिल्लो पदार्थको अत्यधिक सेवन चाडबाडको बेला स्वास्थ्यका लागि जोखिमपूर्ण हुने भएकाले सीमित मात्रामा मात्र उपभोग गर्नुपर्ने उनको सल्लाह छ ।

उनले घरमै बनेका खानेकुरा पनि सधैं स्वास्थ्यकर नहुने भन्दै पकाएको खाना दुई घण्टाभित्र तातो अवस्थामा सेवन गर्नुपर्नेमा जोड दिइन् । त्यसपछि खान चाहिएमा चिसो पारेर फ्रिजमा राखी दुईदेखि तीन दिनसम्म मात्र प्रयोग गर्न सकिने तर एकपटक तताएको खाना पुनः फ्रिजमा राख्नु हुँदैन भन्ने चेतावनी उनले दिइन् ।

उनका अनुसार चाडबाडमा नुनको प्रयोग पनि अत्यधिक हुने भएकाले सचेत हुन जरुरी छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का मापदण्डअनुसार एक वयस्क व्यक्तिले दैनिक पाँच ग्रामभन्दा बढी नुन सेवन गर्न नहुने भए पनि नेपालीहरूले औसतमा दैनिक करिब १० ग्राम नुन सेवन गरिरहेको तथ्यांकले देखाउँछ । यसले उच्च रक्तचापदेखि अन्य स्वास्थ्य समस्या निम्त्याउने भएकाले नुनको प्रयोग कम गर्नुपर्ने उनले आग्रह गरिन् ।

डा. जोशीले दसैँ–तिहारजस्ता पर्वलाई स्वास्थ्यलाई बेवास्ता गरेर मनाउनुभन्दा पनि खानपान र उपभोगमा सन्तुलन राख्दै उत्सवलाई अझै अर्थपूर्ण बनाउनुपर्ने सुझाव दिएकी छन् ।