आज नेपाल वायुसेवा निगमले भैरहवामा अलपत्र यात्रुलाई काठमाडौं ल्याउन चार्टर्ड फ्लाइट गर्दै


काठमाडौं । अलपत्र परेका यात्रुहरुलाई भैरहवाबाट काठमाडौं ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड फ्लाइट आज दिउँसो हुने भएको छ ।

भारी वर्षाले सडक यातायात बन्द भएपछि समस्यामा र अलपत्र परेका यात्रुलाई चार्टर्ड फ्लाइट मार्फत आइतबार राति भैरहवाबाट काठमाडौं पठाउने भनिएको थियो । तर अन्तिम समयमा तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार निगमको जहाज सोमबार दिउँसो २:४५ बजे भैरहवाबाट उड्ने समय तय भएको छ । निगमको जहाज दिउँसो १ बजे भैरहवा अवतरण गर्ने र २:४५ बजे काठमाडौं प्रस्थान गर्ने गरी तयारी गरिएको छ ।

नेपाल वायुसेवा निगमले काठमाडौं–भैरहवा ५ हजार र भैरहवा–काठमाडौं ७ हजार भाडा तय गरेको जानकारी दिएको छ । विशेष गरि भैरहवादेखि काठमाडौंको रुटमा उपचारका लागि जानुपर्ने बिरामी, अध्ययन तथा रोजगारीका लागि विदेश जान टिकट लिइसकेका यात्रु तथा पर्यटक लगायतलाई प्राथमिकता नामावली संकलन गरिएको छ ।