पुँजीबजार सुधार गर्न धितोपत्र बोर्डको तीन महिनाका लागि ९ बुँदे कार्ययोजना,कार्यान्वयन सुरु


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताले उठान गरेका विषय सम्बोधन गर्न समयसीमासहितको कार्ययोजना कार्यान्वयनमा लगेको छ ।

बोर्डले ‘पुँजी बजार सुधार सुझाव कार्यदल’ले पेश गरेको प्रतिवेदनमा उल्लेखित बोर्डसँग सम्बन्धित तीन महिनाभित्र गर्नुपर्ने काम कार्यान्वयनमा लगेको हो ।

पुँजीबजार सुधारको पहल गरिरहेका बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले प्रतिवेदनमा रहेको सुझावलाई कार्यान्वयन गर्न काम सुरु गरेका हुन् ।

बोर्डले विज्ञप्ति जारी गर्दै भनेको छ,“पुँजी बजार सुधार सुझाव कार्यदलले पेश गरेको प्रतिवेदनमा उल्लेखित बोर्डसँग सम्बन्धित तीन महिनाभित्र गर्नुपर्ने काम कार्यान्वयनको चरणमा गइसकेको जानकारी समेत गराएको छ ।”

जेनजी आन्दोलनपछि बनेको सरकारका अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजार सुधारका लागि धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन गरेका थिए ।

असोज ३ गते गठित पुँजी बजार सुधार सुझाव कार्यदलले असोज ९ गते प्रतिवेदन पेश गरेको थियो । कार्यदलले पुँजीबजार सुधारका लागि चरणबद्ध गर्नुपर्ने कामको सुझाव सरकारलाई दिएको थियो । सोही अनुसार बोर्डले पनि काम सुरु गरेको हो ।

बोर्डले सङ्गठित संस्थाले लगानीकर्तालाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांस कर सम्बन्धित सङ्गठित संस्थाले नै मिलान गरी भुक्तानी गर्नुपर्ने व्यवस्था, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड सूचीकृत कम्पनीहरूको वित्तीय सबलता, तरलता तथथा संस्थागत सुशासनको अवस्थाका आधारमा गर्ने वर्गीकरण वस्तुनिष्ट बनाउने तथा उक्त वर्गीकरणपछि ‘जेड समूह’मा पर्ने कम्पनीहरूको कारोबार गर्दा शतप्रतिशत नगद मार्जिन लिनुपर्ने व्यवस्था तत्कालै कार्यान्वयनमा लैजाने कार्ययोजनामा उल्लेख छ ।

लगानीकर्ताको समस्या तथा गुनासो तत्काल सम्बोधनका लागि आवश्यक गुनासो व्यवस्थापन संयन्त्रको स्थापना गरी सञ्चालनमा ल्याउने, धितोपत्र सम्बन्धी कसुरको जाँचबुझ समयमा प्रभावकारी ढङ्गले सम्पन्न गर्न संयन्त्रको स्थापना गर्ने विषयलाई तुरुन्तै कार्यान्वयनमा लैजाने, लगानीकर्ताले दुई वा सो भन्दा बढी हितग्राही खाता खोल्न सक्ने व्यवस्थाको प्रकृया सुरु भइसकेको र कात्तिक १५ भित्र सम्पन्न गर्ने लगायतका विषय पनि कार्ययोजनामा उल्लेख छ ।