काठमाडौँ । नेपाली धितोपत्र बजारको कुल पुँजीकरण ४४ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, गत भदौ मसान्तसम्म बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ कायम भएको हो।
अघिल्लो वर्षको सोही अवधिमा बजार पुँजीकरण ४१ खर्ब ३ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो। यस अवधिमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को ७१.८८ प्रतिशतबाट बढेर ७३।१५ प्रतिशत पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकांक पनि वृद्धि भएको छ। आर्थिक वर्ष २०८१ भदौ मसान्तमा नेप्से सूचकांक २५८०.७६ रहेकोमा चालु वर्षको भदौ मसान्तमा २६७२.२५ पुगेको छ।
नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या पनि बढेर २७६ पुगेको छ। तीमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९४ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका कम्पनीहरू रहेका छन्। अघिल्लो वर्षको भदौमा सूचीकृत कम्पनीको संख्या २६७ मात्र थियो।
सूचीकृत कम्पनीहरूको समूहगत बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५२.९ प्रतिशत रहेको छ। त्यसपछि जलविद्युत कम्पनीहरूको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीहरूको ७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ५.६ प्रतिशत, व्यापारिक संस्थाको ४.९ प्रतिशत, होटेलको २.७ प्रतिशत, र अन्य समूहको ११.३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
गत भदौ मसान्तसम्म नेप्सेमा सूचीकृत ८ अर्ब ९१ करोड कित्ता सेयरको चुक्ता मूल्य ८ सय ७७ अर्ब ९७ करोड रुपैयाँ रहेको छ।
त्यस्तै, चालु आर्थिक वर्ष २०८२र८३ का पहिलो दुई महिनामा १७ अर्ब रुपैयाँ बराबरका नयाँ धितोपत्रहरू थप सूचीकृत भएका छन्। तीमध्ये १२ अर्ब ७८ करोड बराबरका साधारण सेयर, १ अर्ब ८३ करोड बराबरका बोनस सेयर, १ अर्ब ४६ करोड बराबरका हकप्रद सेयर र ९२ करोड ५० लाख बराबरका एफपीओ रहेका छन्।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब ९५ करोड रुपैयाँ बराबरका धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ। जसमा ६ अर्ब १८ करोड बराबरका म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड बराबरका हकप्रद सेयर र ९९ करोड ४७ लाख बराबरका साधारण सेयर समावेश छन्।
विश्लेषकहरूका अनुसार, बजार पुँजीकरणमा भएको वृद्धिले लगानीकर्ताको आत्मविश्वास बढाएको छ, तर दीर्घकालीन स्थायित्वका लागि नियामक सुधार र संस्थागत सुदृढीकरण आवश्यक रहेको बताइन्छ।
प्रतिक्रिया दिनुहोस्