काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछिन्। संघीय र प्रादेशिक सरकारबीचको सहकार्य सुदृढ गर्ने उद्देश्यले प्रधानमन्त्रीले आइतबार दिउँसो ४ बजे बालुवाटारमा बैठक आह्वान गरेकी हुन्।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार बैठकका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरूले सहभागी हुने निश्चित भएको छ।
‘बैठकका लागि सातै प्रदेशका मुख्यमन्त्रीले आउँछु भन्नु भएको छ,’ रावलले बताए, ‘परिवर्तित अवस्थामा संघ र प्रदेशबीच संवाद कायम गर्न र सहकार्य थप सघन बनाउन प्रधानमन्त्रीले छलफल गर्न लाग्नुभएको हो।’
बैठकमा संघ र प्रदेशबीचको सम्बन्ध, संवाद आदानप्रदान, परिवर्तित परिस्थितिमा सरकारका काम–कारबाहीलाई कसरी प्रभावकारी बनाउने, आगामी निर्वाचनको वातावरण निर्माण, शान्ति–सुरक्षा र सरकारको मितव्ययी नीति लगायतका विषयमा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी हुनेछन्।
संघीय प्रणाली सुदृढीकरणका सन्दर्भमा यो बैठकलाई प्रधानमन्त्री कार्कीको पहलमा भएको उच्चस्तरीय संवादका रूपमा हेरिएको छ।



प्रतिक्रिया दिनुहोस्