काठमाडौँ । नेपाल प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण चलिरहेका बेला राजधानीमा सक्रिय अनलाइन सट्टेबाजी समूहले दुई करोड रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको पत्ता लगाएको छ। काठमाडौँ प्रहरी परिसरले सोमबार पत्रकार सम्मेलन गर्दै अनलाइन जुवातर्फको यो ठूलो रकम प्रवाहबारे जानकारी सार्वजनिक गरेको हो।
प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष अभियान सञ्चालन गर्दै अनलाइन बेटिङमा संलग्न १० जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूले स्टेक डटकम, बेडबुक डटकम लगायतका वेबसाइट र तिनसँग सम्बन्धित एप्लिकेसनमार्फत सट्टेबाजी सञ्चालन गर्दै आएका थिए।
उनका अनुसार अनुसन्धानका क्रममा डिजिटल वालेटमार्फत करिब दुई करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको प्रमाण फेला परेको छ। पक्राउ परेका व्यक्तिहरू दुई समूहमा रहेर सट्टेबाजी सञ्चालन गरेको पाइएको र उनीहरू हाल प्रहरी हिरासतमा रहेको जानकारी दिएका छन्।
एसपी भट्टराईले भने, “एनपीएल चलिरहेको अवस्थामा अनलाइन बेटिङमा संलग्न रहेको आशंकामा हामीले दुई वटा समूहबाट १० जनालाई पक्राउ गरेका छौं। उनीहरूको डिजिटल वालेटहरूमा करिब दुई करोड पाँच लाख रुपैयाँ बराबरको ट्रान्ज्याक्सन देखिन्छ। स्टेक डटकम, बेडबुक डटकम लगायतका वेबसाइट तथा अन्य सम्बन्धित एप्हरू प्रयोग भएको पुष्टि भएको छ।”
नेपाल प्रहरीले अनलाइन जुवा, डिजिटल माध्यमबाट हुने आर्थिक अपराध तथा यस्ता अवैध गतिविधिलाई रोकथाम र नियन्त्रण गर्न थप गहिरो अनुसन्धान र आवश्यक कानुनी कारबाही अघि बढाइने जनाएको छ।



प्रतिक्रिया दिनुहोस्