जिल्लास्तरीय संरचनाहरूलाई राजनीतिक क्रियाकलाप तीव्र बनाउन तरुण दलकाे निर्देशन


काठमाडाैँ । नेपाल तरुण दल केन्द्रिय कार्यलयले देशको बदलिँदो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै सबै जिल्लास्तरीय कार्यसमितिहरुहन आवश्यक कार्यक्रममा सक्रिय बन्न परिपत्र जारी गरेको छ। दलका अध्यक्ष विद्वान गुरुङद्वारा जारी परिपत्रमा जिल्लामा राजनीतिक वातावरण सुदृढ बनाउन विभिन्न गतिविधि सञ्चालन गर्न निर्देशन दिइएको छ।

परिपत्र अनुसार तरुण दलका जिल्ला कार्यसमितिहरुले ली मार्च पास तथा कोण सभा आयोजना गर्दै निर्वाचनको सुनिश्चितताबारे सम्बद्ध पक्षको ध्यानाकर्षण गराउने छन्। सभामा जिल्ला नागरिक समाज, सुरक्षा निकायका प्रतिनिधि, जेनजी युवा, निर्वाचन कार्यालयका अधिकारी तथा मतदाताहरूलाई सहभागी गराई अन्तर्क्रिया कार्यक्रम पनि सञ्चालन गर्न भनिएको छ।

यस्तै, जिल्लास्थित नेताको उपस्थितिमा जेनजी उमेरसमूहका युवालाई पार्टी प्रवेश कार्यक्रममार्फत आकर्षित गर्ने योजना पनि परिपत्रमा समावेश गरिएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाताहरूमा सचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्न तथा स्थानीय सरकारका विकास गतिविधिमा आवश्यक स्थानमा स्वयंसेवक परिचालन गर्न निर्देशन दिइएको छ।

तरुण दलले जिल्लाबाट प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई शान्ति–सुरक्षा व्यवस्थापनका विषयमा ध्यानाकर्षण पत्र बुझाउनेछ। यस क्रममा जिल्लाका सम्पूर्ण तहका संरचनालाई एकताबद्ध रूपमा सहभागी गराउन परिपत्रले जोड दिएको छ।

साथै, पार्टीको पाँचौँ महाधिवेशनका सन्दर्भमा पूर्ण सदस्यता फाराम वितरणलाई तीव्रता दिन तथा केन्द्रबाट स्वीकृति प्राप्त भएपछि मात्र अधिवेशनको प्रक्रिया सुरु गर्न सबै जिल्ला कार्यसमितिलाई जानकारी गराइएको छ। अध्यक्ष गुरुङले सबै तहबाट सक्रियता बढाइ लोकतान्त्रिक अभ्यास सुदृढ गर्न आह्वान गरेका छन्।