काठमाडाैँ । नेपालमा डिजिटल प्रविधिको प्रयोगमार्फत पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित ‘डिजिटल टुरिजम प्रमोशन एण्ड एआई ट्रेनिङ फर ट्रेकिङ एजेन्सी अपरेटर’ शीर्षकको चारदिने तालिम सुरू भएको छ।
ट्रेकिङ एजेन्सीज एसाेसिएसन अफ नेपाल (टान) को आयोजनामा, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सस्टेनेबल टुरिजम प्रोजेक्टको सहकार्यमा सुरू गरिएको तालिम काठमाडौँस्थित एक होटलमा सञ्चालन भइरहेको छ।
टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईका अनुसार ट्रेकिङ व्यवसायमा संलग्न करिब ३० जना व्यवसायी तथा अफिस प्रोटोकल सम्हाल्ने कर्मचारीलाई एआईको प्रयोगमार्फत अनलाइन पर्यटन प्रवर्धन , डिजिटल मार्केटिङ, सामग्री विकास, अनलाइन क्याम्पेन सञ्चालन, डिजिटल ब्रान्डिङ, यात्रा सूचनाको व्यवस्थापन र ग्राहक सेवा स्वचालनजस्ता विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिँदैछ।
उनले नेपालले सूचना–प्रविधिको क्षेत्रमा पछिल्लो समय देखिएको कमजोर तयारीलाई उठाउँदै एआईलाई पर्यटन क्षेत्रमा मुख्यधारमा नल्याए विश्व बजारको प्रतिस्पर्धामा पछि पर्नु पर्ने जोखिम रहने बताए । “हाम्रो ट्रेकिङ व्यवसायीको क्षमता विकासका लागि यो तालिम आजको आवश्यकताअनुसारको कार्यक्रम हो,” उनले भने ।
प्रशिक्षक सुमन बरालले एआईको प्रभावकारी प्रयोगले विश्व पर्यटन बजारमा प्रतिस्पर्धा तीव्र बनेको अवस्थामा नेपालको ट्रेकिङ तथा पर्यटन उद्योगलाई नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । “यो कार्यक्रमले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न ठोस योगदान पुर्याउनेछ,” उनले भने ।
प्रशिक्षार्थीहरूका भनाइमा तालिमले दैनिक काम सहज बनाउने मात्र होइन, पुरानो शैलीको प्रचारभन्दा एआई प्रयोगमार्फत धेरै छिटो र प्रभावकारी नतिजा प्राप्त हुने विश्वास बढेको छ। प्रशिक्षार्थी सलोना ढुङ्गानाले एआईको प्रयोगले कार्यगतिमा ‘आकाश–जमिन’ बराबरको फरक ल्याउने बताइन्।
अर्का प्रशिक्षार्थी ऋषिप्रसाद नेपालले आफूले दैनिक प्रयोग गर्दै आएको एआईभन्दा बाहेकका नयाँ एआई उपकरणबारे सिक्न पाएको भन्दै खुसी व्यक्त गरे। “डिजिटल मार्केटिङ कसरी गर्ने, एआईमार्फत आफ्नै कम्पनीको प्रचार कसरी प्रभावकारी बनाउने भन्ने ज्ञान प्राप्त भयो। साथै ग्राहकका इमेललाई अटोमेसनमार्फत जवाफ दिने सीप पनि सिकें,” उनले भने।
प्रशिक्षार्थी रितिका धमलाले आधुनिक युगमा पुरानो तरिकाले प्रचारप्रसार गर्दा प्रभावकारी नहुने उल्लेख गर्दै एआईमा आधारित डिजिटल प्रवद्र्धनले विदेशी पर्यटक आकर्षित गर्न मद्दत गर्ने बताइन्।
आयोजकका अनुसार तालिमपछि सहभागीहरूले आन्तरिक कार्य दक्षता सुधार्ने, ट्रेकिङ प्याकेजहरूलाई अन्तर्राष्ट्रिय बजारमा अझ आकर्षक ढंगले प्रस्तुत गर्ने तथा एआईको सहयोगमा प्रतिस्पर्धी क्षमता बढाउन सक्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस्