सक्रिय सदस्यता टुंगिन नसक्दा तोकिएको समयमै काँग्रेस महाधिवेशन नहुने


काठमाडाैँ । नेपाली काँग्रेसले तोकिएको समयमै महाधिवेशन हुन नसक्ने स्पष्ट पारेको छ। बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन गर्न आवश्यक आधार नपुगेको निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले महाधिवेशनको सबैभन्दा ठूलो चुनौती सक्रिय सदस्यता टुंग्याउनु रहेको बताए। सक्रिय सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री गगनकुमार थापा नै रहेको उल्लेख गर्दै उनले सक्रिय सदस्यता प्रक्रियामा विभिन्न प्राविधिक र व्यवस्थापकीय समस्या देखिएको जानकारी दिए।

उनका अनुसार जिल्लाहरूमा पठाइएका सक्रिय सदस्यता फारममा क्रमसंख्या नरहेको, कतिपय ठाउँमा समयमै फारम भरेर बुझाउन नसकिएको तथा फारम भरेर मात्र नपुग्ने भएकाले त्यसको इन्ट्रीसमेत गर्नुपर्ने अवस्था रहेको छ। तर जिल्ला कार्यालयहरूको कमजोर अवस्था र स्रोत–साधनको अभावका कारण इन्ट्री प्रक्रिया सहज नभएको उनले बताए।

डा। महतले विधिसम्मत तरिकाले काम गर्नुपर्ने भएकाले जिल्लाका कार्यकर्ताले सक्दो प्रयास गरे पनि सबै ठाउँमा सक्रिय सदस्यता एकरूप रूपमा टुंगिन नसकेको स्पष्ट पारे। यही कारणले तोकिएको मितिमा अधिवेशन तथा त्यससँग जोडिएको वडादेखिको निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।

उनले पार्टीका जिम्मेवार पदाधिकारीहरूले यस विषयमा गहन र गम्भीर ढंगले धारणा राख्नुपर्ने आवश्यकता रहेको पनि औंल्याए।