काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान अवस्थामा सरकारका कामका कारण आफूहरू जहाँ गए पनि सहज नहुने, दिक्दारीपूर्ण अवस्था सिर्जना भएको बताएकी छन् ।
बाह्रखरी मिडियाद्वारा बिहीवार काठमाडौंमा आयोजित ‘उत्कृष्ट कथा घोषणा समारोह’लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकारले निर्वाचन सम्पन्न गर्न निकै सकसका साथ काम गरिरहेको उल्लेख गरिन्। उनले केही युवाहरूले ‘निर्वाचन किन आवश्यक छ ?’ भन्ने प्रश्न उठाउने गरेको भन्दै वैधानिकता कायम गर्न र कानूनको कार्यान्वयन सुनिश्चित गर्न निर्वाचन अपरिहार्य रहेको स्पष्ट पारिन्।
प्रधानमन्त्री कार्कीले युवा पुस्ताबाट समेत दबाब र आलोचना झेल्नुपरेको गुनासो गरिन् ।उनका अनुसार २५ देखि ३० वटा छुट्टाछुट्टै जेनजी समूहहरूले आ–आफ्ना माग लिएर आउने गरेका छन्, जसका कारण सरकार थप दबाबमा परेको छ।
उनले भनिन्, “हामी निकै सकसका साथ काम गरिरहेका छौँ। अहिले निर्वाचन किन चाहियो भनेर युवाहरूले प्रश्न गर्छन्। तर यो संसारको नियम हो, कानून हो। वैधानिकता र अवैधानिकताको कुरा हुन्छ। यदि यही सरकार निरन्तर चलिरह्यो भने तानाशाह भयो भन्ने आरोप लाग्छ, सरकारमा खान मात्रै आएका रहेछन् भन्ने टिप्पणी हुन्छ। कतै जाँदा पनि सुख नहुने अवस्था अहिले हाम्रो छ। अब त हाम्रै बारेमा पनि कथा लेख्नुस्। एउटा जेनजी समूह आउँछ यो गर भन्छ, अर्को आउँछ अर्कै माग राख्छ।”
प्रधानमन्त्री कार्कीले नेपाललाई थप राजनीतिक संकटतर्फ धकेलिन नदिन सबै पक्ष सतर्क हुनुपर्ने अवस्था रहेको समेत बताइन् ।



प्रतिक्रिया दिनुहोस्