निर्वाचनको वातावरण नबनेसम्म कांग्रेस निर्वाचनमा नजाने, सरकार असफल भएको आरोप


काठमाडाैँ । नेपाली कांग्रेसका नेताहरूले सरकारले निर्वाचनका लागि आवश्यक वातावरण तयार गर्न नसकेको आरोप लगाएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेताहरूले सरकारको तयारी कमजोर देखिएकाले हालको अवस्थामा निर्वाचन सम्भव नदेखिएको बताएका हुन्।

नेताहरूले कांग्रेस निर्वाचनको पक्षमा रहे पनि सरकारले वातावरण नबनाउँदासम्म निर्वाचनमा जान नसकिने स्पष्ट पारे।

कांग्रेस उपसभापति धनराज गुरुङले सरकारले अझै निर्वाचनमय माहोल बनाउन नसकेकाले सांसदहरू वैकल्पिक बाटो अपनाउँदै सर्वोच्च अदालतमा रिट दायर गर्न बाध्य भएको बताए।

उनले कांग्रेस निर्वाचनको पक्षमा भए पनि त्यसका लागि आवश्यक वातावरण बनाउने जिम्मेवारी सरकारको भएको उल्लेख गरे। साथै, पार्टीको महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्नुपर्नेमा पनि उनले जोड दिए।

गुरुङले भने, “महाधिवेशन हुन्छ। क्रियाशील सदस्यताको टुंगो जिल्लाबाट आउने क्रम जारी छ, छिट्टै टुंगो लाग्छ। सरकार पक्षबाट निर्वाचनको आकाशमा देखिएको बादल फाटेको अवस्था देखिएन। त्यो काम सरकारको हो। त्यसैले संसद् पुनःस्थापनाका लागि रिट दायर गरिएको हो। सरकार पक्षले वातावरण बनाए निर्वाचनमा सहभागी हुन्छौं। निर्वाचन नभए देश डार्क भूगोलतिर जान्छ। महाधिवेशन हुन्छ, एक–दुई दिन तलमाथि हुन सक्छ, तर तिललाई पहाड बनाउनु हुँदैन।”

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले महाधिवेशन कुनै पनि हालतमा अलमलमा नपर्ने दाबी गरे। उनले विगतको भन्दा अझ भव्य रूपमा महाधिवेशन सम्पन्न हुने र नियमित महाधिवेशन चाँडै हुने बताए।

उनले भने, “महाधिवेशन अलमलमा पर्दैन। महाधिवेशन भव्यताका साथ हुन्छ, पहिलाको भन्दा भव्यताका साथ सम्पन्न हुन्छ। नियमित महाधिवेशन चाँडै नै सम्पन्न हुन्छ।”

पार्टीकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले ११ जिल्लाको क्रियाशील सदस्यता टुंग्याउन बाँकी रहेको जानकारी दिइन्। उनले अधिकांश जिल्लामा क्रियाशील सदस्यताको नवीकरण सकिएको र नयाँ सदस्यतामा नम्बर छुटेकाले केही समस्या देखिएको बताइन्।

पदाधिकारीहरूको पदावधि सकिनुअघि नै महाधिवेशन हुने दाबी गर्दै उनले निर्वाचनमा सहभागी हुन कांग्रेस तयार भए पनि सरकारले वातावरण बनाउन नसकेको आरोप लगाइन्। देश शून्यतामा नजाओस् भन्ने उद्देश्यले सर्वोच्च अदालतमा रिट दायर गरिएको उनको भनाइ थियो।

उनले भनिन्, “११ जिल्लाको क्रियाशील सदस्यता टुंग्याउन बाँकी छ। क्रियाशीलको नवीकरण लगभग सकिएको छ। पदावधिको समयभित्रै महाधिवेशन हुन्छ। आम निर्वाचनमा सरकारले ध्यान दिन सकेको छैन। निर्वाचनमा सहभागी हुन हामी तयार छौं, तर वातावरण बनाउनु पर्छ। देश भ्याकुमको अवस्थामा नजाओस् भनेर रिटमा हस्ताक्षर गरिएको हो।”

कांग्रेस नेता अर्जुननरसिंह केसीले कांग्रेस कुनै पनि अन्योलमा नरहेको र संस्थागत निर्णय गरेर निर्वाचनमा जाने भनिसकेको बताए। उनले पार्टीको महाधिवेशन पनि तोकिएको समयमै हुनुपर्नेमा जोड दिए। वर्तमान अवस्थामा निर्वाचनमा जानु आत्महत्या सरह हुने उनको तर्क थियो।

केसीले भने, “कांग्रेस अन्योलमा छैन। हामीले संस्थागत रूपमा के गर्ने भनेर भनिसकेका छौं। महाधिवेशन तोकिएको मितिभित्रै हुनुपर्छ। यो कसैको रहरको कुरा होइन, परिस्थितिको कुरा हो। यथास्थितिमा निर्वाचनमा जानु आत्महत्या बराबर हो।”

नेताहरूले विकसित राजनीतिक घटनाक्रमलाई ध्यानमा राख्दै कांग्रेसले आगामी कदम तय गर्नुपर्नेमा समेत जोड दिएका छन्।