पर्यटनलाई उद्योग भनेका छौँ तर सुविधा दिएका छैनौँः मन्त्री सिन्हा


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन क्षेत्रलाई औपचारिक रूपमा उद्योगको मान्यता दिइए पनि उद्योगसरहका सुविधा भने नपाएको स्पष्ट पारेका छन्।

सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले औद्योगिक व्यवसाय ऐनअनुसार उद्योगले पाउनुपर्ने सुविधा पर्यटन उद्योगले हालको कानुनी व्यवस्थाबाट प्राप्त गर्न नसकेको उल्लेख गरेका हुन्। पर्यटन क्षेत्रलाई व्यवहारिक रूपमा उद्योगसरह सञ्चालन गर्न कानुनी सहजीकरण आवश्यक रहेको उनको जोड थियो।

मन्त्री सिन्हाका अनुसार हाल ८० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटकका कारण होटलहरू खचाखच भरिएको अवस्था छ। आन्तरिक पर्यटनलाई थप सुविधाजनक बनाइएमा यसको दायरा अझै विस्तार हुन सक्ने उनको भनाइ छ।

पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटनमा हुने खर्चलाई कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत राखी कर छुटको व्यवस्था गर्न आग्रह गरेको कुरा पनि मन्त्री सिन्हाले जानकारी दिए।

उनले भने “अहिले हामी पर्यटन उद्योग भन्छौँ, तर उद्योगको रूपमा पाउनुपर्ने औद्योगिक व्यवसाय ऐनका सुविधा पर्यटन क्षेत्रले पाएको देखिँदैन। आन्तरिक पर्यटनलाई केही सहज बनाइदिने हो भने त्यसले पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्छ भन्ने व्यवसायीहरूको माग छ।”

मन्त्री सिन्हाले पर्यटन क्षेत्रका विद्यमान समस्या समाधान गर्ने उद्देश्यले मन्त्रालयले एकीकृत पर्यटन विधेयक ल्याउने तयारी गरिरहेको जानकारी पनि दिए ।