काठमाडौँ । विश्व बजारमा नेपालको पहिचान बनाउँदै आएको ठूलो अलैंची उत्पादनमा नेपाल अग्रणी रहे पनि यसको बजार व्यवस्थापन, ब्रान्डिङ र मूल्य अभिवृद्धि अझै कमजोर देखिएको छ। उच्च व्यावसायिक सम्भावना बोकेको यो मसला परम्परागत प्रणालीमै सीमित हुँदा किसान र देशले अपेक्षित लाभ लिन नसकेको देखिएको छ।
ठूलो अलैंचीको स्वादका कारण यसलाई ‘खोल्साको सुन’ र ‘मसलाकी रानी’ समेत भन्ने गरिन्छ। स्याफ्रन, भेनिला र सानो अलैंचीपछि विश्वका महँगा मसला मध्ये पर्ने ठूलो अलैंची नेपालको प्रमुख कृषिजन्य निर्यात वस्तु हो जसले कुल निर्यातको करिब ५.२ प्रतिशत हिस्सा ओगटेको संयुक्त राष्ट्रसंघीय निकाय खाद्य तथा कृषि संगठनको सहयोगमा काठमाडौँको किङ्स कलेज नेपालले २२ महिना लगाएर गरेको अध्ययनले देखाएकाे हाे ।
नेपाल, भारत र भुटानमा ठूलो अलैंची उत्पादन हुँदै आएको छ। परम्परागत रूपमा भारतको उत्पादन बढी रहँदै आए पनि पछिल्ला वर्षमा नेपालको उत्पादन उल्लेख्य रूपमा बढेको छ। भारतले २०१५–१६ मा करिब ९० लाख केजी उत्पादन गरेको थियो भने भुटानमा २०१६–१७ पछि उत्पादन घट्दो क्रममा देखिएको छ।
नेपालमा ठूलो अलैंचीको उत्पादन क्षेत्र क्रमिक रूपमा विस्तार हुँदै गएको छ।आर्थिक वर्ष २०१२/१३ मा ११ हजार ४३४ हेक्टर क्षेत्रफलमा सीमित रहेको खेती २०२१/२२ मा बढेर १५ हजार ९७५ हेक्टर पुगेको छ। पूर्वी पहाडी जिल्ला टाप्लेजुङ, पाँचथर र इलाम मुख्य उत्पादन केन्द्र भए पनि पछिल्लो अध्ययनले गण्डकी र लुम्बिनी प्रदेशका कास्की, लमजुङ, स्याङ्जा, बाग्लुङ र गुल्मीमा समेत ठूलो अलैंची खेतीको राम्रो सम्भावना देखाएको छ।
अध्ययनअनुसारठूलो अलैंची उत्पादनमा नेपाल अग्रणी रहे पनि यसको बजार प्रणाली परम्परागत, खण्डित र वस्तु–केन्द्रित नै रहेको छ। विकसित बजारमा जस्तो ब्राण्ड–केन्द्रित र मूल्य अभिवृद्धिमुखी प्रणालीको अभावले किसान प्रत्यक्ष लाभबाट वञ्चित भइरहेका छन्।
अध्ययनले उत्पादन र आम्दानीको संरचना असन्तुलित रहेको देखाएको छ। अधिकांश किसान सानो परिमाणमा उत्पादन गरी न्यून आम्दानीमा सीमित छन् भने केही ठूला उत्पादकले उत्पादन र आम्दानीमा प्रभुत्व जमाएका छन्। गुणस्तरीय बियाँको पहुँच सीमित हुनु, भाइरसजन्य रोगको समस्या, कमजोर कृषि विस्तार सेवा र परम्परागत खेती अभ्यासले उत्पादकत्वमा असर पारिरहेको छ।
हाल किसानले ठूलो अलैंचीको फार्मगेट मूल्य प्रतिकेजी ३ हजारदेखि ३ हजार ८ सय रुपैयाँसम्म पाउने गरेका छन्। मूल्य दायरा साँघुरो भए पनि किसानको बार्गेनिङ शक्ति कमजोर रहेको र बिचौलियामा निर्भरता बढी रहेको किङ्स कलेज नेपालका एग्री बिजनेश टिमका संयोजक सन्देश पौडेलले बताए । अन्तर्राष्ट्रिय बजार, विशेष गरी मध्यपूर्वी देशहरूमा भने गुणस्तर वर्गीकरण, ब्राण्डिङ र प्रमाणिकरणका कारण मूल्य उल्लेख्य रूपमा उच्च रहेको छ।
उपभोक्ता तहमा समेत ठूलो अलैंचीप्रति चेतना कमजोर देखिएको छ। १०० उपभोक्तामाथि गरिएको सर्वेक्षणमा केवल ६ प्रतिशतले मात्रै ठूलो अलैंचीबारे जानकारी राखेको पाइएको छ। अध्ययनअनुसार उपभोक्तामा ठूलो अलैंचीलाई लक्जरी मसला भन्ने धारणा भए पनि प्रयोग र प्राथमिकता स्पष्ट छैन।
किङ्स कलेज नेपालका एग्री बिजनेश टिमका संयोजक पौडेलका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा ठूलो अलैंची खेतीको सम्भावना प्रचुर छ। “समग्र रूपमा अध्ययन, गुणस्तर सुधार, ब्राण्डिङ र बजार विस्तारमा ध्यान दिन सके ठूलो अलैंची नेपाली कृषकका लागि दिगो आम्दानीको आधार बन्न सक्छ,” उनले भने।


प्रतिक्रिया दिनुहोस्