इन्टरनेट बजारमा ग्राहक सङ्ख्या बढाउने होडबाजी, गुणस्तर सेवामा भने उपभोक्ताको असन्तुष्टि यथावत


काठमाडाैँ । नेपाली बजारमा इन्टरनेट कम्पनीहरूकाे बाढी नै छ । करिव दुई दर्जन बढी कम्पनीहरू प्रतिष्पर्धामा छन् । उनीहरुले सेवा प्रवाहलाई गुणस्तरीय बनाउन भन्दा पनि ग्राहक सङ्ख्या बढाउन होडबाजी गरिरहेका छन् ।

वल्र्डलिंक, डिसहोम, नेपाट टेलिकमसहित करिव दुई दर्जन कम्पनीको अहिले बजारमा हालिमुहाली छ । बजारमा प्रतिष्पर्धा गर्नेमध्ये सबैभन्दा बढि बजार हिस्सा वल्र्ड लिंकको रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । 

प्राधिकरणकाअनुसार मङ्सिरसम्ममा बजार हिस्साको  हिसावले वल्र्डलिङ्का सबैभन्दा ग्राहक छन् । वल्र्डलिङ्कका ग्राहक १० लाख ५५ हजार पुगेका छन् भने इन्टरनेट कम्पनीहरूमा सबैभन्दा बढी बजार हिस्सा कायम गर्न सफल वल्र्डलिङ्क पछिको डिस होम हो । डिसहोमका ग्राहक ३ लाख ८२ हजार पुगेका छन् ।

बजार हिस्साको हिसावले तेस्रो नम्बरमा सरकारी लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ । टेलिकमका ग्राहक ३ लाख ७४ हजार पुगेका छन् । बजार हिस्साको रुपमा चौथो नम्बरमा भायनेट रहेको छ ।

बजार विस्तारमा आक्रामक देखिएको भायनेटका ग्राहक ३ लाख ४० हजार पुगेका छन् भने पाँचौ नम्बरमा क्लासिक टेक रहेको छ । क्लासिक टेकले मङ्सिर मसान्तसम्ममा २ लाख ६८ हजार ग्राहक सङ्ख्या पुर्‍याएको छ ।

बजार हिस्साका रुपमा छैटौं नम्बरमा सुबिसु इन्टरनेट देखिएको छ । सुबिसुका ग्राहक २ लाख ५५ हजार पुगेका छन् भने सातौँ नम्बरमा वेभसफर देखिएको छ । अहिले बजारमा वेभसफरका ग्राहक १ लाख ७६ हजार रहेका छन् ।

यस्तै बजार हिस्साको हिसाबले आठौँ नम्बरमा टेकमाइन्सले देखिएको छ । टेकमाइन्सका ग्राहक १ लाख २३ हजार रहेका छन् भने नबौँ नम्बरमा वाइफाई नेपाल, दशौँ नम्बरमा सिजि कम्युनिकेशन रहेको छ । 

इन्टरनेट कम्पनीहरूले यसरी ग्राहक तानातानमा उत्रिएका छन् । अहिले पनि उपभोक्ता भने इन्टरनेट प्रयोगमा सन्तुष्ट देखिँदैनन् ।

इन्टरनेट प्रदायक कम्पनीहरुले इन्टरनेटमा देखिएका समस्याहरू समाधानमा समयमै समाधान गर्न चासो नदेखाउने गरेको गुनासाहरू गर्ने गरेका छन् ।