सरकार !  इनिशाले न्याय पाउँछिन्? 


यौन हिंसाविरुद्ध अब सहने होइन, बोल्ने समय आएको छ। समाजमा हुने यस्ता अपराधलाई लुकाउने प्रवृत्तिले अपराधीलाई झन् बल पुग्ने गर्छ। अभिभावकहरूले पनि ‘इज्जत’को नाममा छोरीमाथि हुने दुर्व्यवहार लुकाउने होइन, न्यायको लागि अघि बढ्ने वातावरण बनाउन आवश्यक छ।

__________लक्ष्मी ज्ञवाली__________

फागुन २३ गते बिहान ट्युसन पढ्न घरबाट निस्केकी १६ वर्षीया इनिशा पुनः घरको आँगनमा फर्किइनन्। वीरेन्द्रनगरको सहिद पार्क नजिकैको जंगलमा उनी अचेत अवस्थामा फेला परिन्। प्रहरीको सहयोगमा अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे। पोष्टमार्टम प्रतिवेदनले जवरजस्ती करणीपछि अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको देखाएको छ।

वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ विज्ञान संकायमा अध्ययनरत इनिशा गुर्भाकोट नगरपालिका–६ की स्थायी बासिन्दा थिइन्। पढाइका लागि उनी वीरेन्द्रनगर–१ मा आमासँग बस्दै आएकी थिइन्। छोरीलाई डाक्टर बनाउने सपना बोकेर गाउँबाट शहर आएकी आमाको त्यो सपना अब कहिल्यै पूरा हुने छैन। रोजगारीका लागि विदेशमा रहेका बाबु र परिवारका अन्य सदस्यका लागि यो पीडा असह्य बनेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा १८ वर्षमुनिका चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको छ। थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्ने बताइएको छ।

इनिशाको दर्दनाक हत्यापछि सुर्खेत मात्र होइन, देशका विभिन्न स्थानमा विरोधका आवाज उठेका छन्। काठमाडौंको माइतीघर मण्डलासहित विभिन्न शहरमा युवाहरू सडकमा उत्रिएका छन्। सामाजिक सञ्जालमा पनि दोषीलाई कडा कारबाही गर्नुपर्ने माग तीव्र रूपमा उठिरहेको छ। हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट आएका नयाँ नेतृत्वले पनि इनिशालाई न्याय दिलाउन जिम्मेवारीपूर्वक कदम चाल्नुपर्ने आवाज उठाएको छ।

विश्वभर ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको बेला सुर्खेतमा भएको इनिशा हत्याकाे घटनाले समाजमा गहिरो भय र असुरक्षाको भावना सिर्जना गरेको छ। पछिल्ला वर्षहरूमा नेपालमा बलात्कार तथा यौन हिंसाका घटनाहरू बढ्दो क्रममा छन्। तीमध्ये सबैभन्दा बढी पीडित नाबालिका हुने गरेका छन्।विशेष गरी ११ देखि १६ वर्ष उमेर समूहका बालिकाहरू सबैभन्दा बढी प्रभावित हुने तथ्यांकहरूले देखाउँछन्। 

नेपाल प्रहरीका तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा हरेक वर्ष करिब दुई हजारदेखि दुई हजार पाँच सयसम्म बलात्कारका मुद्दा प्रहरीमा दर्ता हुने गरेका छन्। आर्थिक वर्ष २०७६/०७७ मा २,१४४, २०७७/०७८ मा २,५३२, २०७८/०७९ मा २,३८०, २०७९/०८० मा २,३८७ र २०८०/०८१ मा २,५०७ घटना दर्ता भएका छन्। यी तथ्यांकले नेपालमा बलात्कारका घटना निरन्तर भइरहेका मात्र होइन, समाजका लागि गम्भीर सुरक्षा चुनौती बनेको संकेत गर्छ।

कतिपय घटनाहरू भने प्रहरीमा दर्ता नै नहुने र समाजभित्रै दबाइने पनि गर्छन्। दर्ता भएका घटनाको आधारमा मात्र हेर्दा पनि नेपालमा दैनिक औसत करिब ६ देखि ७ जना महिला वा बालिका बलात्कारको सिकार हुने अवस्था रहेको विभिन्न अध्ययनले देखाउँछन्। अझ चिन्ताजनक कुरा के छ भने यस्ता घटनामा नाबालिकाहरू नै सबैभन्दा बढी पीडित हुने गरेका छन्।

प्रहरी अनुसन्धानका प्रतिवेदनहरू हेर्दा यस्ता अपराधमा अपरिचितभन्दा पनि पीडितकै आफन्त, छिमेकी, साथी वा चिनजानका व्यक्तिहरू संलग्न हुने गरेका तथ्यहरू बाहिर आएका छन्। समाजको डर, बदनाम हुने भय वा मिलापत्रको दबाबका कारण धेरै घटनाहरू अझै बाहिर आउँदैनन्। कतिपय पीडित परिवारले सामाजिक बहिष्कारको डरले घटनालाई लुकाउने गरेका छन्।

आजको वास्तविकता के हो भने हाम्रा छोरीहरू अझै पनि घर, विद्यालय, क्याम्पस र समाजमा पूर्ण रूपमा सुरक्षित छैनन्। महिनावारीका बेला छाउगोठमा बस्न बाध्य बनाइएकी बालिका त्यहीँ बलात्कृत हुन्छिन्, विद्यालय पढ्न गएकी छात्रा शिक्षकबाटै दुर्व्यवहारको सिकार हुन्छिन्, क्याम्पस जाने युवती सामूहिक बलात्कारपछि मृत अवस्थामा भेटिन्छिन्। पढ्न घरबाट निस्केकी छोरी सुरक्षित घर फर्किन्छे कि फर्किँदैन भन्ने डर अभिभावकको मनमा गहिरिँदै गएको छ। अनि हाम्राे समाजमा निकृष्टता र अपराज फस्टाइरहेकाे सन्देश पनि दिइरहेका छन् यी घटनाहरूले।

नेपालमा यस्ता घटनाको इतिहास निकै पीडादायी छ। २०७५ सालमा कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो। वर्षौँ बितिसक्दा पनि उनले न्याय पाएकी छैनन्। त्यसैगरी माया विक, भागरथी भट्ट, सालिना पोखरेल र अङ्गिरा पासीजस्ता नाबालिकाका घटनाहरूले पनि न्यायको प्रतीक्षा गरिरहेका छन्।

सरकारले यौन अपराधविरुद्ध कडा र प्रभावकारी कानुनी व्यवस्था लागू गर्न नसकेको आरोप बारम्बार उठ्ने गरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले बलात्कार र यौन हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न करोडौँ रुपैयाँ खर्च गरिरहेका छन्। तर पनि यस्ता घटनाहरू दोहोरिरहनु गम्भीर चिन्ताको विषय बनेको छ।

सामान्यतः कुनै घटना सार्वजनिक भएपछि मात्र कडा कानुनको माग उठ्छ। संसद् तात्छ, सडक तात्छ, केही समयपछि सबै कुरा सेलाउँछ। यही चक्र दोहोरिरहँदा अपराधीहरूमा दण्डहीनताको भावना बढ्दै गएको देखिन्छ।

इनिशा केवल एक व्यक्ति मात्र थिइनन् । हुर्काएर, बढाएर, कमाउने बनाउने बाबु आमाको सपना थिइन् । र, त्यो सपना पुरा गरेकी इनिशा बाबुआमाको सेवा गर्ने असल छोरीको सपना पनि सँगै मरेको छ । कसैको समपनालाई अधुरै किल्चने अधिकार समाजमा कसैलाई छैन । दोषी उम्कन नपाउन् । 

शहरी क्षेत्रमा पनि यौन हिंसाका घटना कम छैनन्। शहरमा घरेलु कामदारका रूपमा राखिएका बालिकाहरू यौन शोषणको उच्च जोखिममा रहने गरेका छन्। कानुनले नाबालिकालाई घरेलु कामदारका रूपमा राख्न निषेध गरे पनि व्यवहारमा यस्तो प्रथा अझै कायम छ। परिवार र समुदायबाट अधिकार तथा सुरक्षाबारे जानकारी नपाएका कारण उनीहरू थप जोखिममा पर्छन्।

कार्यस्थलमा पनि धेरै महिलाहरू यौन हिंसा सहेर बस्न बाध्य छन्। सामाजिक दबाब, रोजगारी गुम्ने डर वा प्रतिष्ठा जोगाउने चिन्ताले उनीहरूले आवाज उठाउन सकिरहेका छैनन्। केही समयअघि सौन्दर्य प्रतियोगिता मिस ग्राण्ड नेपाल २०२५ की विजेता जेसिका सिंह ठकुरीले आयोजकबाट निरन्तर दुर्व्यवहार भएको भन्दै उपाधि त्यागेको घोषणा गरेकी थिइन्। अवसरका लागि आत्मसम्मान साट्न नसक्ने भन्दै उनले सार्वजनिक रूपमा आवाज उठाएकी थिइन्।

ए नेपाली समाज ! इनिशाहरू कतिन्जेल बलात्कृत भइराख्नु पर्ने हो? यौन हिंसाविरुद्ध अब सहने होइन, बोल्ने समय आएको छ। समाजमा हुने यस्ता अपराधलाई लुकाउने प्रवृत्तिले अपराधीलाई झन् बल पुग्ने गर्छ। अभिभावकहरूले पनि ‘इज्जत’को नाममा छोरीमाथि हुने दुर्व्यवहार लुकाउने होइन, न्यायको लागि अघि बढ्ने वातावरण बनाउन आवश्यक छ।

नेपालमा बलात्कार तथा यौन हिंसा न्यूनीकरण गर्न परिवार, समाज र राज्य सबैले समन्वयात्मक रूपमा काम गर्न आवश्यक छ। घरपरिवारले आफ्ना छोराछोरीलाई सुरक्षा र आत्मरक्षाबारे सचेत बनाउनु पर्दछ। विद्यालय र क्याम्पसमा यौन हिंसा, लैङ्गिक समानता र आत्मसुरक्षाबारे शिक्षा अनिवार्य गरिनु आवश्यक छ। स्थानीय तहदेखि केन्द्रसम्म सरकारले प्रभावकारी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ।

हाम्रो पितृसत्तात्मक सोचले प्रायः छोरीलाई मात्र अनुशासन सिकाउँछ, तर छोरालाई समान रूपमा जिम्मेवार बनाउने प्रयास कम देखिन्छ। लैङ्गिक विभेदले महिलालाई कमजोर ठान्ने मानसिकता बढाउँदा अपराधीहरू हिंसामा प्रेरित हुने अवस्था सिर्जना हुन्छ। यससँगै प्रविधिको तीव्र प्रयोगले पनि नयाँ प्रकारका यौन अपराधलाई बढावा दिएको देखिन्छ। बालबालिकामा मोबाइल फोन र इन्टरनेटको अनियन्त्रित प्रयोगले पनि जोखिम बढाइरहेको छ। त्यसैले डिजिटल सचेतना पनि उत्तिकै आवश्यक भइसकेको छ।

अनुसन्धान एकै निकायले निष्पक्ष रूपमा टुंग्याउन दिनु पनि आवश्यक छ। निर्मला पन्त प्रकरणमा पटक–पटक अनुसन्धान टोली परिवर्तन हुँदा विषय जटिल बनेको थियो। यसपटक केन्द्रीय अनुसन्धान ब्युरोले निष्पक्ष र पारदर्शी छानबिन गरेर सत्य सार्वजनिक गर्नुपर्छ। 

अब त सरकार पनि नयाँ बन्दैछ । अवकी बार बालेन सरकारकाे नाराले सार्थकता पाएकाे छ । सरकारले इनिशालाई न्याय दिलाउन कुनै कसर बाँकी नराखोस् । यस्ता घटना दोहोरिन नदिन कानुको कार्यान्वयन र सामाजिक चेतना वृद्धिमा पनि ध्याद देओस् । निर्मला र निर्मला जस्ता पीडितका अभिभावकले न्याय पर्खिरहेका छन् । हेक्का राखियोस् बालेन सरकार । न्याय पाउछिन् नि इनिशाहरूले? 

किनकि न्याय केवल एक पीडितका लागि मात्र होइन, समाजको विश्वास जोगाउनका लागि पनि अत्यावश्यक हुन्छ। इनिशा, निर्मला र अन्य पीडित दुवैले न्याय पाउनुपर्छ। अपराध गर्नेहरूलाई कडा भन्दा कडा सजाय हुनुपर्छ ताकि भविष्यमा यस्ता जघन्य अपराध गर्ने कोहीमा पनि नजागोस्। हाम्रा छोरीहरू ढुक्कले बाँच्न पाउनुपर्छ।