काव्य स्कुलमा संस्कृत पढाइ : भाषा,स्मरणशक्ति र पहिचानसँग जोड्ने फरक अभ्यास


काठमाडौँ । निजी विद्यालयहरूले परम्परागत विषयभन्दा बाहिरका नयाँ शैक्षिक अभ्यास खोजिरहेका बेला काव्या स्कुलले संस्कृत शिक्षालाई पुनः विद्यालयमा भित्राउँदै फरक अभ्यास सुरु गरेको छ ।

परम्परागत रूपमा केवल धार्मिक कर्मकाण्डसँग जोडेर हेरिँदै आएको संस्कृतलाई विद्यालयले भाषा सिकाइ, स्मरणशक्ति विकास र सांस्कृतिक पहिचानसँग जोड्ने माध्यमका रूपमा प्रयोग गरेको छ ।

काव्या स्कुलका प्रधानध्यापक नवराज बास्कोटाका अनुसार संस्कृतलाई परीक्षा केन्द्रित विषय नभई ‘सिकाइलाई सहजीकरण गर्ने उपकरण’ का रूपमा लागू गरिएको हो ।

विद्यालयले चार वर्षअघि सुरु गरेको यो अभ्यास अहिले अभिभावक र विद्यार्थी दुवैबाट सकारात्मक रूपमा स्वीकारिएको बास्कोटाको भनाई छ ।

उनका अनुसार सानो उमेरमा बालबालिकामा बहुभाषिक क्षमता उच्च हुने भएकाले त्यही चरणमा संस्कृतलाई पनि सिकाइ प्रक्रियामा समावेश गरिएको हो ।

“आठ वर्षसम्म बच्चाले बहुभाषा लगभग मातृभाषाजस्तै सिक्न सक्छ । त्यसपछि सिकिने भाषा सहायक भाषा बन्छ,” उनले भने, “त्यसैले प्रारम्भिक चरणमै भाषाको दायरा फराकिलो बनाउँदा समग्र सिकाइमा सहयोग पुग्छ।”

संस्कृतले अन्य भाषाको उच्चारण, शब्द संरचना र अभिव्यक्तिमा स्पष्टता ल्याउने काम गर्छ । “संस्कृत पढ्दा उच्चारण प्रस्ट हुन्छ, बोल्ने क्षमता सुधारिन्छ र अन्य भाषा सिक्न पनि सजिलो हुन्छ,” स्कुलको संस्थापक निर्देशक समेत रहेको बास्कोटाले भने, “यो एउटा आधारभूत भाषा जस्तै काम गर्छ ।”

हाम्रो संस्कार, संस्कृति र पहिचान संस्कृतसँग गहिरो रूपमा जोडिएको छ । यसलाई केवल कर्मकाण्डमा सीमित गर्नु उचित होइन, व्याकरण, दर्शन, चिकित्सा, अर्थशास्त्र जस्ता धेरै ज्ञान संस्कृत ग्रन्थमा छन्, तर हामीले त्यसमा पहुँच बनाउन सकेका छैनौँ –नबराज बास्कोटा, प्रिन्सिपल, काव्य स्कुल

विद्यालयले संस्कृतलाई ‘वैज्ञानिक र संरचित भाषा’ का रूपमा पनि व्याख्या गरेको छ । उनका अनुसार संस्कृतको ध्वनि प्रणाली स्पष्ट र व्यवस्थित भएकाले बोलाइमा कम द्विविधा हुने र अभिव्यक्ति सुस्पष्ट हुने विश्वास गरिएको छ ।

संस्कृत शिक्षाको अर्को महत्वपूर्ण पक्ष स्मरणशक्ति विकाससँग जोडिएको विद्यालयको दाबी छ । श्लोक, मन्त्र तथा पद्यांश अभ्यासले बालबालिकाको स्मरण शक्ति र ध्यान केन्द्रित गर्ने क्षमतामा सकारात्मक प्रभाव पार्ने अनुभव विद्यालयले गरेको छ ।

“संस्कृतका श्लोकहरू अभ्यास गर्दा बच्चाको ब्रेन सक्रिय हुन्छ । यो केवल घोकाइ होइन, ब्रेन अभ्यास जस्तै हो,” बास्कोटाले भने, “यदि नियमित रूपमा सम्झने अभ्यास गरियो भने स्मरणशक्ति क्रमशः बढ्दै जान्छ भन्ने कुरा विभिन्न अध्ययनले पनि देखाएका छन् ।”

उनका अनुसार मेमोरी विकासका लागि प्रयोग गरिने आधुनिक प्रविधिहरू पनि संस्कृत शिक्षासँग मिल्दोजुल्दो देखिन्छन् । “आजभोलि मेमोरी ट्रेनिङ दिनेहरूले पनि क्रमबद्ध रूपमा सम्झने अभ्यास गराउँछन् । संस्कृतको अभ्यासमा पनि त्यही कुरा स्वाभाविक रूपमा हुन्छ,” उनले भने ।

विद्यालयले भने संस्कृतलाई परीक्षा प्रणालीसँग नजोडी “नन–क्रेडिट” विषयका रूपमा राखेको छ । यसले विद्यार्थीमा अनावश्यक दबाब नपरी स्वतः रुचि विकास हुने अपेक्षा गरिएको छ ।

“हामीले यसलाई बोझ बनाएका छैनौँ । केवल जिज्ञासा जगाउने र सिकाइलाई सहयोग गर्ने माध्यम बनाएका छौं,” बास्कोटाले भने, “संस्कृत पढ्दा म्याथ वा अन्य विषय कमजोर हुँदैनन्, बरु समग्र सिकाइलाई सहयोग गर्छ ।”

संस्कृत शिक्षालाई विद्यालयले सांस्कृतिक र सामाजिक पहिचानसँग पनि जोडेको छ ।

बास्कोटाका अनुसार संस्कृत केवल पूजापाठमा सीमित विषय नभई ज्ञानको ठुलो भण्डार हो ।

“हाम्रो संस्कार, संस्कृति र पहिचान संस्कृतसँग गहिरो रूपमा जोडिएको छ । यसलाई केवल कर्मकाण्डमा सीमित गर्नु उचित होइन,” उनले भने, “व्याकरण, दर्शन, चिकित्सा, अर्थशास्त्र जस्ता धेरै ज्ञान संस्कृत ग्रन्थमा छन्, तर हामीले त्यसमा पहुँच बनाउन सकेका छैनौँ ।”

उनले विदेशी मुलुकमा संस्कृतप्रति देखिएको रुचिको उदाहरण पनि प्रस्तुत गरे ।

“जर्मनीमा संस्कृत अध्ययन भइरहेको छ तर हामी आफैंले त्यसलाई बेवास्ता गरेका छौँ,” उनले भने, “आज नेपाली विद्यार्थीले संस्कृतका ग्रन्थ बुझ्न विदेशी अनुसन्धानकर्तामाथि निर्भर हुनुपर्ने अवस्था आएको छ ।”

संस्कृत शिक्षाको आवश्यकता व्याख्या गर्दै उनले सांस्कृतिक पहिचानको प्रश्नलाई पनि जोड दिए । “आज विश्वभर ‘आइडेन्टिटी’ को कुरा उठिरहेको छ । यस्तो अवस्थामा आफ्नो संस्कृति र जडसँग जोडिनु झन् महत्वपूर्ण हुन्छ,” उनले भने ।

काव्या स्कुलले संस्कृत शिक्षालाई अनिवार्य नभई अवसरका रूपमा प्रस्तुत गरेको छ । विद्यालयका अनुसार विद्यार्थीमा कम्तिमा जिज्ञासा जागृत गराउन सके भविष्यमा उनीहरूले चाहेको क्षेत्र रोज्न सक्ने आधार तयार हुन्छ ।

“अहिले नै सबैले संस्कृत बोल्नुपर्छ भन्ने होइन,” बास्कोटाले भने, “तर भविष्यमा कसैले त्यो क्षेत्रमा जान चाह्यो भने उसलाई मूल स्रोतसम्म पुग्ने ढोका खुला हुनुपर्छ । ”

विद्यालयले यो अभ्यासबाट प्राप्त प्रतिक्रिया सकारात्मक रहेको जनाएको छ । अभिभावकहरूले पनि यसलाई अतिरिक्त बोझ नभई उपयोगी सिकाइका रूपमा लिएको विद्यालयको भनाइ छ ।

काव्या स्कुलले सुरु गरेको संस्कृत शिक्षा अभ्यासले परम्परागत विषयलाई आधुनिक शैक्षिक दृष्टिकोणसँग जोड्ने प्रयास गरेको देखिन्छ ।

भाषा, स्मरणशक्ति र सांस्कृतिक पहिचानलाई एकै ठाउँमा समेट्ने यो पहलले निजी विद्यालयहरूमा वैकल्पिक शिक्षण अभ्यासको नयाँ बहस सुरु गराएको छ ।