ट्रम्पद्वारा इरानलाई ‘एकै रातमा समाप्त गर्ने’ चेतावनी, तेल र होर्मुज जलडमरूमध्यमाथि नजर


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानलाई एकै रातमा ‘समाप्त पार्न’ सकिने र त्यो रात मंगलबार हुनसक्ने बताएका छन् । ट्रम्पले इरानलाई सम्झौता गर्न र होर्मुज जलडमरूमध्य पुनः खोल्नका लागि तोकेको समयसीमा मंगलबार राति समाप्त हुँदैछ ।

सोही क्रममा उनले मध्यस्थकर्ताहरूमार्फत इरानी पक्षसँग भइरहेको वार्ता ‘राम्रोसँग अघि बढिरहेको’ दाबी समेत गरेका छन् । पत्रकार सम्मेलनमा ट्रम्पले भने, “सम्पूर्ण देशलाई एकै रातमा सिध्याउन सकिन्छ र त्यो रात भोलि रात हुनसक्छ ।”

उनले इरानसँगको युद्ध कम गर्ने वा बढाउने भन्नेकुरा इरानको कदममा भर पर्ने बताए । ट्रम्पले आफ्नो प्रशासनसँग मंगलबार मध्यरातसम्म इरानका पुल र पावर प्लान्टहरू ध्वस्त पार्ने योजना रहेको खुलासा गरे ।

राष्ट्रपतिले मंगलबार पूर्वी समय अनुसार राति ८ बजेको समयसीमा अन्तिम भएको बताए । यद्यपि उनले विगतमा यस्ता समयसीमाहरू बारम्बार परिवर्तन गर्दै आएका छन् । 

यसअघि ट्रम्पले इरानको नागरिक पूर्वाधारमा हुने अमेरिकी हवाई आक्रमणले युद्ध अपराधको रूप लिनसक्ने विषयमा आफू ‘चिन्तित नरहेको’ बताएका थिए । उनले होर्मुज जलडमरूमध्यबाट गुज्रिने जहाजहरूमा अमेरिकाले शुल्क (टोल) लिनुपर्ने र तेलको स्वतन्त्र आवागमन सुनिश्चित हुनुपर्ने कुरामा जोड दिए ।

उनले इरानको तेल नियन्त्रणमा लिन सकिने संकेत गर्दै अमेरिकी जनता भने आफ्ना सेना घर फर्केको हेर्न चाहने उल्लेख गरे । 
अर्कोतर्फ, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले युद्धविरामले विपक्षीहरूलाई पुनर्गठित हुन र थप अपराध गर्न समय मात्र दिने बताएका छन् ।

इरानी समाचार एजेन्सी आईआरएनएकाअनुसार तेहरानले अमेरिकाको १५ बुँदे प्रश्तावलाई अस्वीकार गर्दै युद्धको स्थायी अन्त्यका लागि आफ्ना शर्तहरूसहित पाकिस्तानमार्फत जवाफ पठाएको छ । ट्रम्पले अमेरिकाले इरानसँगको युद्ध जितिसकेको दाबी गरे पनि धेरै अमेरिकी विशेषज्ञहरू भने यसमा असहमत देखिन्छन् ।