वित्तीय पहुँच नपुगेका क्षेत्र समेट्दै हायर पर्चेज कम्पनी, २५ हजारको मोबाइलदेखि करोड माथिको बससम्म


काठमाडाैँ । हायर पर्चेज कम्पनीहरूले हायर पर्चेज कर्जा लगानी गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र पाएर संचालनमा छन् । नेपालमा राष्ट्र बैंकबाट अनुमति पाएका १० ओटा हायर पर्चेज कम्पनीहरू रहेका छन् ।

हायर पर्चेज कम्पनीहरूको उद्देश्य सवारी साधनहरू, पूर्वाधार निर्माणका इक्युप्मेन्ट, ठुला गाडी, ट्रक, टिपर, बस, मोटरसाइकल लगायत सबै सवारी साधन र उपकरणहरूमा कर्जा लगानी गर्ने हो ।

घरायसी उपकरणहरू, मोबाइल फोन, सवारी साधन लगायतका क्षेत्रहरूमा पनि हायर पर्चेज कम्पनीहरूले लगानी गर्दै आइरहेका छन् । राष्ट्र बैंकले इजाजत दिँदा नै निक्षेप लिन नपाइने व्यवस्था रहेको छ । हायर पर्चेज कम्पनीहरूले आफ्नो पुँजी, संचित नाफाका साथै बैंकहरूबाट थोक कर्जा लिएर विभिन्न क्षेत्रहरूमा कर्जा प्रवाह गर्दै आइरहेका छन् ।

राष्ट्र बैंकले हायरपर्चेज कम्पनीहरूको न्यूनतम चुक्तापुँजी ३० करोड रूपैयाँ तोकेको छ । हायर पर्चेज कम्पनीले निक्षेप लिन नपाएपछि यसको कर्जा लगानी गर्ने पुँजीको स्रोत बैंकको कर्जा नै हो । यस्ता कम्पनीहरूले नेटवर्थको १० गुणासम्म बैंकबाट कर्जा लिन पाउँछन् । राष्ट्र बैंकले निर्देशिका बनाएर नै यसको कर्जा लगानी गर्ने पुँजीको स्रोतको व्यवस्था गरेको छ ।

एम.ए.डब्लु हायर पर्चेज यो क्षेत्रको एउटा मूख्य कम्पनी हो । एम.ए.डब्लु हायर पर्चेज कम्पनीको नेटवर्थ ६७ करोड रूपैयाँ रहेकोले यसको १० गुणा सम्म बैंकबाट थोक कर्जा लिएर ग्राहकहरूलाई कर्जा लगानी गर्न सक्ने कम्पनीका महाप्रबन्धक प्राणनाथ भट्टराई बताउँछन् ।

उनले भने, “चैत मसान्तसम्म हाम्रो कम्पनीको नेटवर्थ ६७ करोड रूपैयाँ रहेकोले यसको १० गुणासम्म बैंकहरूबाट कर्जा लिन मिल्छ ।”

एम.ए.डब्लु हायर पर्चेजले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म कम्पनीको नेटवर्थको ५.२८ गुणामात्र बैंकबाट कर्जा लिएको छ । उनले १० गुणा त लिन नै पाइने भए पनि त्यो भन्दा कम बैंकबाट कर्जा लिएको र लिभरेज कम भएको, बाँकी कर्जा लगानीको स्रोत आफनो नेटवर्थ ९पुँजी तथा संचित नाफा कोष० बाट नै चलिरहेकोले लिभरेज कम रहेको बताए ।

आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ५ अर्ब १ करोड रूपैयाँ कर्जा प्रवाह भएको छ भने १.९५ प्रतिशत मात्र खराब कर्जा रहेको छ ।

“विगत १२ बर्ष देखि कम्पनी नाफामा रहेको र कम्पनीको समग्र स्थिति राम्रो छ । हाम्रो कर्जा लगानी पनि विस्तार हुँदै गइरहेको छ । हामीले प्रवाह गरेको कर्जाको गुणस्तर राम्रो रहेकोले खराब कर्जालाई पनि व्यवस्थापन गर्न सहज छ । कर्जाको विविधिकरण भएकोले पनि कर्जाको गुणस्तर अझ राम्रो रहेको छ,” उनले भने ।

हायर पर्चेज कम्पनीहरूले दुई पाङ्ग्रे, चार पाङ्ग्रे सवारी साधन, सवारी साधनका उपकरण, कन्सट्रक्सन इकुपमेन्टहरू, ब्याकलोडर, स्काभेटरहरू, कर्मसियल भेहिकलहरूमा जस्तो, ट्रक, बस, विद्युतीय सवारी साधनहरू, ट्रयाक्टरहरूमा पनि लगानी गर्दै आइरहेका छन् ।

एम.ए.डब्लू.ले आफनो समुहभित्र मात्र नभएर यस समूह बाहिरका सवारी साधन, उपकरणहरुमा पनि कर्जा लगानी गर्दै आइरहेको छ । ग्राहकहरुले एम.ए.डब्लु. समूहसँग सम्बन्धित सवारी साधन मात्र नभई समूह बाहिरका ब्रान्डका सवारी साधनहरूमा पनि कर्जा प्रवाह गर्दै आएको छ । एमएडब्लुले पुराना कारहरू खरिद गर्न पनि कर्जा प्रवाह गर्ने गरेको छ ।

उनले भने,“ जुनसुकै कम्पनीको पुराना कारहरूमा हामीले कर्जा लगानी गर्ने गरेका छौँ । हामीले कर्जा लगानीको मापदण्डहरू बनाएका हुन्छौँ र त्यसभित्र रहेर कर्जा लगानी गर्ने गर्छौं ।”

पछिल्लो दुई वर्षदेखि एम.ए.डब्लुले मोबाइल उपकरणहरूमा पनि कर्जा लगानी गरिरहेको छ । लगानीको विविधिकरण भएकोले जोखिम पनि कम रहेको छ भने जोखिम व्यवस्थापन गर्न पनि सजिलो भइरहेको छ ।

यस कम्पनीले अहिले साओमी र भिबो ब्रान्डको मोबाइल खरिद गर्न कर्जा लगानी गरिरहेको छ भने अरू ब्रान्डसँग पनि सहकार्य गर्ने प्रकृयामा रहेको छ । अहिले यी दुई ब्रान्डका फोनमा ४० प्रतिशत डाउनपमेन्ट र ६० प्रतिशत कर्जा लगानी गर्ने र त्यसको किस्ता तिर्ने अवधी ९ महिनादेखि १२ महिना रहेको छ । यसरी ऋण लिएर मोबाइल फोन खरिद गर्दा ग्राहकहरूलाई ब्याज लाग्ने गरेको छैन । ग्राहकको तर्फबाट हेर्दा सहज हुने नै भयो ।

बैंकहरूले पनि हायर पर्चेज कर्जा प्रवाह गर्ने भएपनि प्राथमिकतामा भने पर्ने गरेको छैन । यस क्षेत्रमा जोखिम अलि बढी भएको र साना कर्जा हुने भएकोले बैंकहरूले यो क्षेत्रमा कम कर्जा प्रवाह गर्ने गरेका छन् ।

बैंकको शाखाहरू पनि सिमित क्षेत्रमा भएकोले कर्जा लिन त्यही नै जानुपर्ने अवस्था छ भने हायर पर्चेज कम्पनीहरूले नेपालभर नै कर्जा लगानी गरिरहेका छन् ।

सम्बन्धित ग्राहकको स्थानमा नै गएर नेपालका दुर्गम सुगम सबैतिर कर्जा लगानी गर्दै आइरहेको छ ।

“हामीले २० हजारको मोबाइल किन्नको लागि होस् वा एक करोड रूपैयाँको बस किन्नको लागि होस् वा कन्सट्रक्सन इक्युप्मेन्ट किन्न लागि होस हामीले सबै क्षेत्रमा कर्जा लगानी गरिरहेको छौँ ।

हामी यी क्षेत्रमा कर्जा प्रवाह गर्न स्पेसलाइज्ड छौँ,” उनले भने, “हामीले त्यहि अनुसारको अध्ययन गरेर, नीति नियम बनाएर ग्राहकलाई कसरी सहज सुविधा दिन सकिन्छ भन्ने हिसाबले लगानी गरिरहेको हुन्छौँ ।”

कर्जा लिनको लागि ग्राहक बैंकमा जानुपर्छ भने हायर पर्चेज कम्पनीहरू ग्राहककोमा नै पुग्ने गरेका छन् । ग्राहककोमा नै गएर अध्ययन गरेर कर्जा प्रवाह गर्ने गरेको उनले बताए । बैंकहरूले हायर पर्चेज कम्पनीहरूलाई थोक कर्जा उपलब्ध गराउँदा अन्य ग्राहकहरूलाई भन्दा सस्तो पर्ने गर्छ । त्यसमा हायर पर्चेज कम्पनीहरूले सामान्य खर्च जोडेर ग्राहकहरूलाई लगानी गर्ने गरेका छन् ।

उनले भने, “बैंकमा भन्दा हाम्रोमा ब्याजदर अलिकति बढी पर्छ तर बैंकिङ पहुच नपुगेका क्षेत्रहरूमा गएर कर्जा प्रवाह गरिरहेका हुन्छौं । सबै ग्राहकहरुको बैंकको कर्जा लगानीको मापदण्ड नपुग्ने भएकोले सो मापदण्ड नपुगेका ग्राहकहरूलाई पनी हामीले समेट्छौँ । हामीले अलिकति जोखिम बढी लिए पनि ग्राहकले कर्जा पाउने क्षेत्र बृहत बनाएर कर्जा लगानी गरि राखेका छौँ ।”

हायर पर्चेज कम्पनीहरूले २५ हजार रूपैयाँ देखिका मोबाइल फोनहरूमा देखी करोड रूपैयाँ भन्दा बढी पर्ने एक्जाभेटर र नाइट बस जस्ता व्यवसायीक सवारी साधनहरुमा पनि कर्जा प्रवाह गर्दै आइरहेका छन् । निम्न आय भएका वर्गलाई आधुनिक प्रविधिसँग जोड्ने र अर्कोतिर ठुला व्यवसायीलाई पूर्वाधार निर्माणमा सहयोग गर्ने काम यो क्षेत्रले गरिरहेको छ ।

यो क्षेत्रले अर्थतन्त्रमा योगदान पु¥याइरहेका भएपनि केही नीतिगत चुनौतीहरू छन् । विसं. २०७०/७१ सालदेखि नेपाल राष्ट्र बैंक ऐन अन्तर्गत कार्यविधि बनाएर इजाजत दिन सुरु गरिएको भएपनि यी कम्पनीहरू बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को दायरामा पर्ने गरेका छैनन् ।

हायर पर्चेज कम्पनीहरूले ‘ऋण असुली न्यायाधिकरण’ मार्फत खराब कर्जाहरुको कर्जा असुलीमा पाउने सुविधाबाट पनि वञ्चित छन् ।

कुनै कर्जा खराब भएमा वा ग्राहकले भुक्तानी नगरेमा लिलामी प्रक्रिया अगाडि बढाउन र बाँकी रकम असुल गर्न जिल्ला अदालतको लामो कानुनी बाटो रोज्नुपर्ने बाध्यता छ, जसका कारण समय र लागत दुवै बढ्ने गरेको छ । लिलामी प्रक्रियामा अझै कानुनी स्पष्टता नरहेकोले खराब कर्जा असुलीमा निकै जटिलता रहेको छ ।

हायर पर्चेज कम्पनीहरूलाई आयकर र खराब कर्जा व्यवस्थापनमा समस्या रहेको भट्टराई बताउँछन् । हायर पर्चेज कम्पनीहरूले ३० प्रतिशत आयकर बुझाउँदै आएका छन्, तर बैंक तथा वित्तीय संस्थाहरूले खराब कर्जा बापत गर्ने ५ प्रतिशतसम्मको प्रोभिजनलाई खर्चका रूपमा देखाउन पाउने सुविधा यी कम्पनीहरूलाई छैन ।

जोखिमपूर्ण क्षेत्रमा लगानी गरिरहेका यस्ता संस्थाहरूले सो प्रोभिजन रकममा पनि कर तिर्नुपर्ने अवस्थाले सञ्चालन लागत महँगो बनाएको छ ।

पछिल्लो समय लिलामी प्रक्रियालाई लिएर देखिने विवादका सम्बन्धमा पनि स्पष्ट हुन जरुरी छ ।

हायर पर्चेज कम्पनीहरू राष्ट्र बैंकको कडा नियमनमा रहने भएकाले कुनै पनि लिलामी प्रचलित कानुन विपरीत नहुने उनको भनाइ छ । “कर्जा नतिर्ने ग्राहकलाई लामो समयसम्म फलोअप गर्ने र क्रमशः ३५, १५ र ७ दिनको सार्वजनिक सूचना निकालेर मात्र लिलामी प्रक्रिया अगाडि बढाइन्छ,” उनले भने ।

लिलामी गर्दा यातायात कार्यालय, स्थानीय निकाय र प्रहरी प्रशासनका प्रतिनिधिको रोहबरमा मात्र मुचुल्का उठाइने हुनाले यसमा विवाद गर्नुपर्ने कुनै ठाउँ नहुने उनले बताए । वास्तवमा, बैंकहरूले प्रशासनिक झन्झटका कारण लगानी गर्न नरुचाउने साना कर्जाहरू प्रवाह गरेर यी कम्पनीहरूले देशको आर्थिक समावेशीकरणमा ठुलो टेवा पुर्‍याइरहेका छन् ।