काठमाडौं । यदि तपाईँले आफ्नो दुःखको कमाइ बैंकमा जम्मा गरेर ब्याजबाट केही गर्छु भन्ने सोच्नुभएको छ भने यतिबेला झस्काउने तथ्याङ्क आएको छ । हाम्रो बैंक खाता राखेको पैसाले पाएको अङ्क त बढेको देखिन्छ, तर त्यो पैसाको वास्तविक क्रयशक्ति भने घटिरहेको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ चैत महिनाको तथ्याङ्कले मुलुक ऋणात्मक वास्तविक ब्याजदर (नेगेटिभ रियल इन्ट्रेस्ट रेट) को जोखिमपूर्ण चक्रमा फसेको पुष्टि गरेको छ।
साधारण भाषामा भन्दा, अहिले बैंकले दिने ब्याजभन्दा बजारमा महँगी (मुद्रास्फीति) धेरै छ। अहिले बैंकमा पैसा राख्नु भनेको आफ्नो सम्पत्तिको मूल्य बिस्तारै गुमाउँदै गएको अवस्था सिर्जना भएको छ ।
राष्ट्र बैंककै तथ्याङ्कले एउटा तीतो यथार्थ उजागर गरेको छ, २०८२ चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत पुगेको छ, जबकि बैंकहरूको औसत निक्षेपको ब्याजदर मात्र ३.४० प्रतिशतमा खुम्चिएको छ। मुद्रास्फीति भनेको वस्तु तथा सेवाहरूको एकीकृत रुपमा भार कायम गरेर निकालिने औसत मूल्य वृद्धिको सूचक हो ।
बजारमा सामानको भाउ जसरी बढिरहेको छ, बैंकले दिने ब्याजले त्यसलाई भ्याउनै सकेको छैन। नतिजास्वरूप, हामस्ले बैंकमा पैसा राखेबापत उल्टै वार्षिक १.०७ प्रतिशत ‘अदृश्य महँगी कर’ तिरिरहनु परेको छ।
अझ बचत खातामा मात्र पैसा राख्ने सर्वसाधारणको हालत त झन् दयनीय छ। बचत खाताको औसत ब्याजदर २.९० प्रतिशत मात्रै छ। यसको अर्थ हो, हामीले बैंकमा १०० रुपैयाँ जम्मा गरेका छौँ भने एक वर्षपछि बैंकले १०२ रुपैयाँ ९० पैसा दिन्छ, तर महँगीका कारण त्यही १०० रुपैयाँको सामान किन्न अब १०४ रुपैयाँ ४७ पैसा खर्च गर्नुपर्छ।
यसरी हाम्रो खल्तीबाट १ रुपैयाँ ५७ पैसा थाहै नपाई खिएर गएको अवस्था सिर्जना भएको छ। अहिले देखिएको यो अवस्था तरलताको चाप र लगानी सङ्कटका कारण उत्पन्न भएको हो ।
आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्मको अवधिमा नेपाली बैंकिङ क्षेत्रमा निक्षेप संकलन र कर्जा प्रवाहबीचको खाडल फराकिलो देखिएको छ। यस अवधिमा बैंकहरूमा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि कर्जाको माग र प्रवाह भने तुलनात्मक रूपमा सुस्त देखिएको छ, जसले समग्र वित्तीय प्रणालीमा उच्च तरलताको अवस्था सिर्जना गरेको छ।
साउन महिनामा ७२ खर्ब ४१ अर्ब रुपैयाँ रहेको कुल निक्षेप चैत मसान्तसम्म आइपुग्दा ९.३५ प्रतिशतले वृद्धि भई ७९ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। रकमका आधारमा हेर्दा पहिलो ९ महिनामा ६ खर्ब ७७ अर्ब रुपैयाँ थप निक्षेप सङ्कलन भएको देखिन्छ।
अर्कोतर्फ, सोही अवधिमा कर्जा प्रवाहको अवस्था भने निक्षेपको तुलनामा केही सुस्त देखिएको छ। साउनमा ५५ खर्ब ७६ अर्ब रुपैयाँ रहेको कुल कर्जा प्रवाह चैत मसान्तसम्म आइपुग्दा ५.९५ प्रतिशतले मात्र बढेर ५९ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कुल ३ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको थप कर्जा लगानी गरेका छन्।
निक्षेपको तुलनामा कर्जा विस्तार करिब आधा मात्र हुनुले बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको देखाउँछ। बजारमा पैसाको थुप्रो छ तर उद्योगी र व्यवसायीहरू ऋण लिएर लगानी गर्न डराइरहेका छन्।
बैंकहरूमा पैसा थुप्रिएपछि उनीहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेका छन्, जसले गर्दा आज बचतकर्ताहरू आफ्नो पैसाको मूल्य बैंकमै खिएको हेर्न बाध्य छन्।
बजारमा तरलता बढेसँगै ब्याजदरमा भने लगातार गिरावट आएको छ। साउन-भदौमा ५.७८ प्रतिशत रहेको आधार दर चैत-वैशाखसम्म आइपुग्दा ५.०६ प्रतिशतमा झरेको छ।
यसको सिधा अर्थ हो, बैंकहरूको पैसा परिचालन गर्ने लागत निरन्तर घटिरहेको छ। तर, यही अवधिमा निक्षेपको भारित औसत ब्याजदर साउनको ४.०२ प्रतिशतबाट झरेर चैतमा ३.४ प्रतिशतमा खुम्चिएको छ।
बैंकहरूले आफ्नो लागत घटाउन निक्षेपकर्ताको ब्याजमा कैँची चलाएका छन्, तर कर्जाको औसत ब्याजदर भने अझै पनि ६.८ प्रतिशतको हाराहारीमा राखेर ठुलो मार्जिन सुरक्षित गरिरहेका छन्। निक्षेपको लागत घटेसँगै बैंकहरूको आधार दर (बेस रेट) समेत प्रतिशतबाट घटेर प्रतिशत कायम भएको छ।
आधार दर भनेको बैंकहरूले कर्जा प्रवाह गर्दा तोकिने न्यूनतम ब्याजदर हो। आधार दर जति कम हुन्छ, सर्वसाधारणका लागि ऋणको ब्याजदर पनि त्यति नै सस्तो पर्छ।
यही कारणले गर्दा बैंकबाट ऋण लिने उद्यमी र व्यवसायीका लागि कर्जाको भारित औसत ब्याजदर ७.७६ प्रतिशतबाट घटेर ६.८ प्रतिशतमा ओर्लिएको छ, जसले लगानीको लागत सस्तो बनाएको छ।
भारित औसत भएकोले सानो पुँजी भएका लगानीकर्ताले बैंकबाट ऋण लिँदा अझ बढी तिर्नुपर्छ, तर आफ्नै बचतमा भने न्यून प्रतिफल पाइरहेका छन्।
अहिले बैंक तथा वित्तीय संस्थाहरूको स्वास्थ्य हेर्दा ‘क’ वर्गका वाणिज्य बैंकहरूको मात्र निक्षेप र कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को अनुपात ११६.८५ प्रतिशत पुग्नुले हाम्रो अर्थतन्त्र अत्यधिक ‘बैंक्ड’ भएको देखाउँछ।
अहिले बैंकहरूको कर्जा-निक्षेप अनुपात अर्थात् सीडी रेसियो ७३.९३ प्रतिशतमा झरेको छ। साधारण भाषामा भन्नुपर्दा बैंकले १०० रुपैयाँ निक्षेप सङ्कलन गर्दा ७३ रुपैयाँ ९३ पैसा मात्र ऋण लगानी गरेका छन्। बाँकी २६ रुपैयाँभन्दा बढी रकम बैंकको ढुकुटीमा थन्किएर बसेको छ।
नियामक राष्ट्र बैंकले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गर्न पाउने सुविधा दिएको छ। तर, ७४ प्रतिशतको हाराहारीमा यो अनुपात खुम्चिनुले बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको देखाउँछ।
बैंकहरू सुरक्षित त देखिएका छन्, किनकि उनीहरूसँग भुक्तानी गर्नुपर्ने दायित्वभन्दा धेरै पैसा मौज्दात छ, तर यो पैसाले अर्थतन्त्रलाई चलायमान बनाउन सकेको छैन।
पैसा ढुकुटीमा थुप्रिएर बस्नु भनेको आर्थिक गतिविधि सुस्त हुनु हो। बैंकहरूले निक्षेप त लिए तर त्यो पैसालाई उत्पादनमूलक क्षेत्रमा पठाउने आँट वा जाँगर देखाएनन्।



प्रतिक्रिया दिनुहोस्