चीन–अमेरिका सम्बन्धः शिर्ष नेताहरूको भेटवार्तापछि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको सकारात्मक प्रतिक्रिया


बेइजिङमा हालै सम्पन्न चिनियाँ र अमेरिकी राष्ट्रप्रमुखबीचको भेटवार्ताले दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई सही दिशा निर्देश गर्ने अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले बताएका छन् ।

रणनीतिक स्थिरतासहितको रचनात्मक चीन–अमेरिका सम्बन्ध निर्माण गर्ने नयाँ दृष्टिकोणले विश्वव्यापी अनिश्चितताका बिच आवश्यक स्थिरता प्रदान गर्ने उनीहरूको विश्वास छ । ह्वाइट हाउसका पूर्व संवाददाता विलियम जोन्सले यस भेटवार्तालाई चीन–अमेरिका सम्बन्धमा गेम–चेन्जरको संज्ञा दिएका छन् ।

संयुक्त राष्ट्र संघका पूर्व उप–महासचिव एरिक सोल्हेमले सबै तहमा सञ्चार संयन्त्रको स्थापना र व्यापारिक सम्बन्धमा सुधार हुनुपर्नेमा जोड दिएका छन् । मतभेद रहेका विषयहरूलाई संवादका माध्यमबाट समाधान गर्न सकिनेमा उनले सकारात्मक धारणा व्यक्त गरे ।

यसैगरी, थाइल्याण्ड–चीन अनुसन्धान केन्द्रका निर्देशक विरुन फिचाइवोङ्फाक्दीले बेइजिङ भेटवार्ताको सबैभन्दा ठूलो सान्दर्भिकता विश्वव्यापी अनिश्चितताको समयमा स्थिरता प्रदान गर्नु रहेको बताए । उनकाअनुसार रणनीतिक स्थिरतासहितको रचनात्मक सम्बन्धले वर्तमानको जटिल अन्तर्राष्ट्रिय परिवेशमा चीनको गहिरो सोचलाई प्रतिबिम्बित गर्दछ । 

आर्थिक दृष्टिकोणबाट विश्लेषण गर्दै अस्ट्रेलियन सिटिजन्स पार्टीका राष्ट्रिय अध्यक्ष रोबर्ट बारविकले चीन विश्वको आर्थिक केन्द्र भएको र ठूला अमेरिकी कम्पनीहरू चीनसँगको सम्बन्धको महत्वलाई लिएर सचेत रहेको बताए । उनले दुई देशबिचको स्थिरता विश्वकै लागि लाभदायक हुने उल्लेख गरे ।

क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका सह–प्राध्यापक वारविक पावेलले चीन–अमेरिका सम्बन्धमा आपसी अन्तरघुलनको आवश्यकता औँल्याउँदै यसले टकरावको सट्टा सहकार्यको यथार्थतर्फ डो¥याउने विचार व्यक्त गरे ।

जापानी विशेषज्ञ ताकाकागे फुजिताले चीन र अमेरिकाले टकरावको साटो साझेदारका रूपमा सहकार्य गर्दै अघि बढेमा त्यसले विश्वभरका मानिसहरूमा सकारात्मक प्रभाव पार्ने बताएका छन्। अन्तर्राष्ट्रिय जगतले यस शिखर वार्तालाई विश्वव्यापी शान्ति र आर्थिक स्थायित्वका लागि एक महत्वपूर्ण पाइलाका रूपमा हेरेको छ ।