काठमाडौँ । चीनले २०० ओटा बोइङ विमान खरिद गर्ने र अमेरिकासँग मिलेर भन्सार शुल्क (ट्यारिफ) कम गर्न सहकार्य गर्ने घोषणा गरेको छ ।
गत हप्ता बेइजिङमा भएको राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणपछि चीनले आज यस्तो घोषणा गरेको हो । यो सम्झौताले एक दशकदेखि चीनमा बोइङ विमानको बिक्रीमा देखिएको अवरोध लगभग अन्त्य गर्नेछ ।
आज चिनियाँ वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार अमेरिका र चीनबिच नोभेम्बरमा समाप्त हुने ‘व्यापार युद्धविराम’ थप्नेबारे समेत छलफल भइरहेको छ ।
करिब ३० अर्ब डलर बराबरका सामानमा आपासी रूपमा ट्यारिफ घटाउने विषयमा समेत थप वार्ता हुने चीनको भनाई छ ।
सन् २०१७ पछि गतहप्ता अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणलाई विश्वका दुई ठुला अर्थतन्त्रबिच तनाव घटाउने र व्यापार नीतिलाई स्थिर बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको थियो ।
चीनले अमेरिकासँग कृषि उत्पादनको द्विपक्षीय व्यापार विस्तार गर्ने र विश्वव्यापी आपूर्ति श्रृङ्खलामा दुर्लभ खनिजको आपूर्ति नियमित गर्ने विषयमा पनि अमेरिकासँगको सहकार्यका लागि काम गर्ने जनाएको छ । यद्यपि यसका ठोस प्रक्रियाबारे भने नखुलाइएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएकाे छ ।
विश्वको दोस्रो ठुलो उड्डयन बजार
चीनले कति बेला र कुन प्रकारका विमान किन्ने भन्ने स्पष्ट नगरे पनि, बोइङसँगको यो सम्झौता ट्रम्प–सीको भ्रमणपछिको सबैभन्दा ठोस उपलब्धिमध्ये एक मानिएको छ । यद्यपि, ट्रम्पले पहिलोपटक गत बिहीबार यस सम्झौताबारे घोषणा गर्दा बोइङको सेयर मूल्य घटेको थियो ।
राष्ट्रपति ट्रम्पले अपेक्षा गरिएको ५०० ओटा विमानसम्म खरिदबिक्रीको सट्टा कम सङ्ख्या उल्लेख गरेका थिए ।
ट्रम्पको सन् २०१७ को बेइजिङ भ्रमणका बेला पनि ३०० बोइङ विमान बिक्री गर्ने सम्झौता घोषणा भएको थियो तर पुरै कार्यान्वयन हुन सकेको थिएन ।
ट्रम्पले सन् २०१७ मा व्यापार युद्ध सुरु गरेपछि चीनमा बोइङको विमान बिक्रीको विषय ओझेलमा परेको थियो । सन् २०१९ मा बोइङको ७३७ म्याक्स विमानसँग सम्बन्धित दुईवटा ठुलो दुर्घटनापछि चीन पहिलो देश थियो जसले,यी मोडेलका विमानहरू उडानबाट हटाउने निर्णय गरेको थियो । यो निर्णयले विमान किन्ने सम्झौतामा थप जटिलता थपेको थियो ।
चीन विश्वको दोस्रो ठुलो उड्डयन बजार हो । सन् २०२४ मा बोइङले आगामी दुई दशकमा चिनियाँ एयरलाइन्सलाई झण्डै ९,००० नयाँ विमान आवश्यक पर्ने प्रक्षेपण गरेको थियो ।
तर, २०१८ यता बोइङले चीनमा जम्मा ४९ वटा मात्रै विमान बेचेको छ, जसमा अधिकांश काग्रो विमान रहेका छन् । यो सङ्ख्या यसअघि १० वर्षमा चीनलाई बेचेको १,००० भन्दा बढी विमानको तुलनामा निकै सानो हो ।
दुवै देशका अनुसार, अमेरिका र चीनले द्विपक्षीय व्यापार तथा आर्थिक सहकार्य सुदृढ गर्न ‘व्यापार बोर्ड’ र ‘लगानी बोर्ड’ स्थापना गर्नेबारे थप काम गरिरहेका छन् ।
बेइजिङ भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई सेप्टेम्बरमा अमेरिका भ्रमणको निम्तो समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्