अमेरिका र इरानबिच फेरि तनाव बढ्न थालेपछि तेल र एसियाली सयेरबजारमा उतारचढाव


काठमाडौँ । अमेरिका र इरानबिच फेरि तनाव बढ्न थालेपछि एसियाली सयेरबजारमा अधिकांश सूचकाङ्क घटेका छन् ।

दक्षिण कोरिया, हङकङ र अष्ट्रेलियाका प्रमुख शेयर सूचकाङ्क घटेर खुलेका छन् ।

अमेरिका–इरान युद्धविरामबारे अनिश्चितता बढेपछि कच्चा तेलको मूल्य पनि बढिरहेको छ । ब्रेन्ट क्रुड तेलको मूल्य फेरि बढेर प्रति ब्यारेल ९५ डलरभन्दा माथि पुगेको छ । अमेरिकी तेल पनि बढेर प्रति ब्यारेल ९१ डलरभन्दा माथि पुगेको छ ।

अमेरिकी सेनाले इरानमा फेरि आक्रमण गरेपछि यसको प्रभाव बजारमा परेको हा । सम्झौतको प्रयास भइरहेका बेला अमेरिकाले तीन दिनमा दोस्रो पटक आक्रमण गरेको छ ।

एक अमेरिकी अधिकारीका अनुसार अमेरिकी सेना र व्यापारिक जहाजको आवागमनलाई खतरा भइरहेको स्ट्रेट अफ हर्मुज नजिकैको क्षेत्रलाई निशाना बनाइएको सिएनएनले जनाएको छ ।

सम्झौता अन्तिम चरणमा पुगेको बताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू कुनै पनि सम्झौतामा हतारिने पक्षमा नरहेको बताएपछि आक्रमण भएको हो । इरानले आफूलाई समय लम्ब्याएर दबाब दिन खोजे पनि त्यो सफल नहुने ट्रम्पको भनाई थियो ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) ले बन्दर अब्बासस्थित विमानस्थल नजिक अमेरिकी सेनाले गरेको बिहानको आक्रमणको जवाफस्वरूप एउटा अमेरिकी एयरबेसमा आक्रमण गरेको बताएको छ ।

अर्ध–सरकारी तस्निम समाचार एजेन्सीले प्रकाशित गरेको समाचारअनुसार इरानमा आक्रमण गर्न प्रयोग भएको एयरबेसलाई इरानले निशाना बनाउको हो । एयरबेसको ठेगाना भने खुलाइएको छैन ।

यो घोषणा अमेरिकी सेनाले बन्दर अब्बास सहरको बाहिरी क्षेत्रमा आक्रमण गरेको खबर सार्वजनिक भएपछि आएको हो । इरानले अमेरिकाको सबै आक्रमणको जवाफ दिने बताएको छ ।