अमेरिका र इरानबिच मोटमोटी सहमति,अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकृति बाँकी


काठमाडौँ । अमेरिका र इरानबिच स्ट्रट अफ होर्मुज खुल्ला गर्ने र आणविक वार्ता सुरु गर्नेबारे प्रारम्भिक सहमति भएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

अमेरिकी समाचार संस्था सिएनएनकाअनुसार दुइदेशबिच सहमति भए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै यसमा औपचारिक स्वीकृति दिएका छैनन् र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले केही बुँदाहरूमा भाषिक विषयमा अझै छलफलमै रहेको बताएका छन तर शान्ति वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको उल्लेख गरेका छन् ।

यो प्रारम्भिक समझदारीले इरानको आणविक कार्यक्रमबारे थप ६० दिन वार्ता प्रक्रिया जारी रहने छ ।

यसैबिच इरानका राष्ट्रपति मसूद पेजेस्कियनले आफ्नो देशविरुद्ध भइरहेको अमेरिका–इजरायल युद्ध अन्त्य गर्न समझदारीमा पुग्ने प्रयासका लागि मलेसियालाई मानवीय भूमिका खेलेकोमा धन्यवाद दिएका छन् भने पाकिस्तानलाई पहल र प्रभावकारी प्रयासका लागि आभार प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा उनले मलेसिया र पाकिस्तानका प्रधानमन्त्रीहरूसँग भएका कुराकानीमा इरानको कूटनीतिप्रति प्रतिबद्धतालाई जोड दिएको बताएका छन् ।

साथै उनले भनेका छन्, “इरानको नीति मुस्लिम तथा छिमेकी देशहरूसँग सबै क्षेत्रमा सहयोग विस्तार गर्ने हो ।”