इप्पानमा एउटा समूह बलराम खतिवडाको नेतृत्वमा चुनाव लड्ने तयारी


काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)मा एउटा समूह बलराम खतिवडाको नेतृत्वमा चुनाव लड्ने तयारी गरेको छ ।

यही जेठ २९ गते हुने साधारण सभामा नयाँ नेतृत्वका लागि एउटा समूह बलराम खतिवडाको नेतृत्वमा प्यानल बनाएर चुनाव लड्ने तयारी गरेको हो ।

खतिवडा वर्तमान महासचिव हुन् । वर्तमान उपाध्यक्ष उत्तम भ्लोनको नेतृत्वमा एउटा समूहको उम्मेदवारी घोषणा भइससकेको छ ।

यसअघि उपमहासचिव प्रकाश दुलालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । अहिले भने दुलाल महासचिवको उम्मेदवार बन्ने तयारीमा छन् । दुलालले खतिवडाको नेतृत्वमा चुनावमा जाने बताए ।

उनले भने,“ हामी बलरामजीको नेतृत्वमा चुनावमा जान्छौँ । यो पक्का हो ।”

विधानअनुसार यसपटक निर्वाचित वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वत : अध्यक्ष हुनेछन् ।

यो कार्यकालमा भने वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वत अध्यक्ष हुनेछन् र चुनाव भने वरिष्ठ उपाध्यक्ष पदसम्मको मात्रै हुने छ ।

खतिवडा पक्षले भने अहिलेसम्म टिम सार्वजनिक गरेको छैन ।

वर्तमान अध्यक्ष गणेश कार्की र वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले भने सर्वसम्मति गराउने प्रयासमा छन् ।

सहमति भए वर्तमान उपाध्यक्ष आनन्द चौधरीसमेत वरिष्ठ उपाध्यक्षको आकाङ्क्षी छन् । चौधरी भने चुनाव लड्ने पक्षमा छैनन् । उनले सहमतिका लागि दुबैपक्षसँग योबिचमा छलफल गरेका थिए ।

इप्पानमा कर्पोरेट र एसोसिएट्स गरेर ६ सय कम्पनी सदस्य छन् । इप्पानले यसपटक जेठ २५ गतेसम्म सदस्यता खुल्ला गरेको छ ।

दुलालले अझै समय बाँकी रहेकाले प्यानल घोषणा नगरेको बताए । उनले भने,“ अझै समय छ । २५ गतेसम्म त नयाँ सदस्यता खुल्ला गरेको छ । हामी प्यानल घोषणा गर्छौँ ।”