काठमाडौं । नेपालको पुँजीबजारमा देखिएको निरन्तर गिरावटले सरकारको राजस्व संकलनमा पनि प्रत्यक्ष असर पारेको छ।
चालु आर्थिक वर्षको ११ महिनामा सरकारले सेयर कारोबारबाट ९ अर्ब ५४ करोड ४४ लाख रुपैयाँ बराबरको पूँजीगत लाभकर संकलन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ दशमलव ५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा सरकारले १५ अर्ब २७ करोड रुपैयाँ पूँजीगत लाभकर उठाएको थियो।
नेपाल स्टक एक्सचेन्जमा देखिएको कारोबार संकुचनसँगै लगानीकर्ताको सक्रियता घट्दा पूँजीगत लाभकर पनि घटेको देखिन्छ। महिनागत तथ्यांकले पनि बजारको उतारचढाव स्पष्ट देखाउँछ, जहाँ साउन महिनामा २ अर्ब १५ करोड रुपैयाँ उठेको थियो भने त्यसपछि भदौदेखि कात्तिकसम्म संकलन घट्दै २४ करोडदेखि ६० करोडको दायरामा सीमित रह्यो।
यस्तै, मंसिरमा ६२ करोड ९८ लाख, पुसमा ५८ करोड ४३ लाख, माघमा १ अर्ब २९ करोड, फागुनमा ५५ करोड १५ लाख र वैशाखमा ९३ करोड ६१ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ। चैत महिनामा भने १ अर्ब ७३ करोड रुपैयाँ संकलन भएको देखिन्छ, जुन ११ महिनामध्ये तुलनात्मक रूपमा उच्च हो।
बजारमा लगातार देखिएको गिरावट, कारोबार रकम घट्नु र लगानीकर्ताको जोखिम मनोवृत्ति परिवर्तन हुनु नै सरकारको राजस्व घट्नुको मुख्य कारण रहेको सेयरबजारका जानकारहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्