काठमाडाैँ । अब छठ केवल मधेस वा तराईको मात्र पर्व रहेन । यो आज काठमाडौंको साझा सांस्कृतिक धुकधुकी बनिसकेको छ ।
चिसो पानीमा घुँडासम्म डुबेर, नाकको टुप्पोदेखि सिउँदोसम्म पहेँलो–रातो सिन्दूर सजाई, हातमा करुवा, कलश र धूपबत्ती लिएर उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्र्य दिइरहेका ब्रतालुहरूको मुहारमा देखिने शान्तिले हरेक दर्शकलाई भावविभोर बनाउँछ ।
बिहानैदेखि छठ घाटको सिँढीहरू सयपत्री फूलको माला, उखुका लाँक्रा, बाँसको छिटा र माटाका दियोहरूले भरिएका छन् । एकातिर ज्याकेट, ऊनी टोपी र न्यानो दोसल्लामा सजिएका परिवारजन हुन्छन् भने अर्कोतिर चिसो पानीको कुनै परवाह नगरी घुँडासम्म जलमा उभिएका व्रतालुहरू ।
यही विपरीत दृश्यले काठमाडौंको छठलाई अझ विशेष र मार्मिक बनाउँछ । जब अघ्र्य दिने बेला आउँछ, तब सम्पूर्ण घाटमा एक किसिमको दिव्य मौनता र एकाग्रता छाउँछ ।
चाँदी, तामा र पीतलका करुवा अनि कलशहरू आकाशतिर उचालिन्छन् । धूपको सुगन्धित धुवाँसँगै बगेको दूध र जलको अविरल धारमा व्रतालुहरूको महिना दिनदेखिको व्रत, तपस्या र सदिच्छा मिसिएको हुन्छ ।
छठ पूजा एकल प्रयास होइन, यो सिङ्गो परिवारको साझा अनुष्ठान हो । कतै श्रीमानले श्रीमतीको हात थामेर दूधको अघ्र्य दिइरहेका छन् त कतै हजुरबुबादेखि नाति–नातिनासम्म एउटै पानीमा उभिएर सूर्यदेवलाई नमन गरिरहेका छन् ।
बन्द आँखा र जोडिएका हातहरूमा देखिने निश्छल भक्तिले पुस्ताबीचको आत्मीयतालाई अझ प्रगाढ बनाउँछ । सूर्यको किरणसँगै पानीमा झरेका दूध र जलका प्रत्येक थोपाले केवल धार्मिक अनुष्ठान मात्र पूरा गर्दैनन्, तिनले प्रकृतिप्रतिको कृतज्ञता, पारिवारिक एकता र सांस्कृतिक सद्भावको सन्देश पनि प्रवाहित गर्छन् ।
काठमाडौँका घाटहरूमा गुञ्जिने छठका लोकभाका, पातला ज्याकेट र राता साडीहरूको यो मेलले नेपाली समाजको बहुलता र आत्मीयतालाई अझ उज्यालो बनाएको छ । –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल






















प्रतिक्रिया दिनुहोस्