काठमाडाैँ । होर्मुज जलसन्धिमा साइप्रसको झण्डावाहक एक कन्टेनर जहाजमाथि आक्रमण भएपछि अमेरिकी सेनाले शनिबार इरानमाथि यसै साताको तेस्रो चरणको हमला गरेको छ ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकप) ले उक्त सैन्य कारबाहीको पुष्टि गरेको हो । अमेरिकी कमाण्डले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, “व्यावसायिक जहाजहरूमाथि भएका अघिल्ला आक्रमणहरूका लागि जिम्मेवार ठहराइएपछि इरानलाई समझदारी ज्ञापनपत्र पालना गर्ने अवसर दिइएको थियो, तर इरान पुनः यसमा असफल सावित भएको छ ।”
नागरिक तथा व्यावसायिक जहाजहरूमाथि निरन्तर आक्रमण गर्ने इरानको क्षमतालाई कमजोर पार्न अमेरिकाले यो कडा कदम चालेको दाबी सेन्ट्रल कमाण्डले गरेको छ । इरानको सरकारी सञ्चारमाध्यम प्रेस टिभीकाअनुसार दक्षिण इरानका विभिन्न शहरहरूमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन् ।
यसैबिच, इरानले होर्मुज जलसन्धि तत्कालका लागि बन्द गरिएको घोषणा गरेको छ । अनुमति नलिई सञ्चालन भएको र समुन्द्री सुरक्षामा खतरा उत्पन्न गराएको भन्दै एक जहाजमाथि प्रहार गरिएको इरानी पक्षको दाबी छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) को नौसेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो प्रणाली बन्द गरी समुद्री सुरक्षालाई जोखिममा पार्ने जहाजलाई प्रहार गरी रोकिएको छ ।”
इरानले अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म र अर्को सूचना जारी नभएसम्मका लागि जलसन्धि बन्द रहने चेतावनी दिएको छ। साथै, यो घटनालाई लिएर हुने कुनैपनि जवाफी कारबाहीको ‘कडा प्रतिवाद’ गर्ने इरानले स्पष्ट पारेको छ ।
यता युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसन (यूकेएमटीओ) ले शनिबार ढिलो गरी ओमानको तट नजिकै एक कन्टेनर जहाजमा क्षति पुगेको र त्यसपछि आगलागी भएको जानकारी दिएको छ । पछिल्लो समय यस क्षेत्रमा बढ्दो सैन्य तनावले अन्तर्राष्ट्रिय समुन्द्री व्यापार र सुरक्षामा गम्भीर चासो उत्पन्न गराएको छ ।


प्रतिक्रिया दिनुहोस्